आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नेकपा (एमाले) का दुई सांसदले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् ।
इलामका प्रदेशसभा सदस्य काजिमान कागते र झापाका गोपालचन्द्र बुढाथोकीले पदबाट राजीनामा दिएका हुन् ।
एमालेले इलामको सूर्योदय नगरपालिकाको मेयरमा कागते र झापाको मेचीनगर नगरपालिकाको मेयरलाई बुढाथोकीलाई उठाउने तयारी गरेपछि उनीहरूले राजीनामा दिएका हुन् ।
कागत इलाम क्षेत्र नम्बर १ (ख) र बुढाथोकी झापा १ (ख) बाट प्रदेशसभामा निर्वाचित
भएका थिए ।
कागतेले सूर्योदयको मेयरमा पार्टीले उठाउने निर्णय गरेपछि प्रदेशसभा सदस्यबाट राजीनामा दिएको फरकधारलाई बताए ।
‘पार्टीले निर्णय गरेर उठ् भनेपछि राजीनामा दिएको हुँ ।’ उनले फरकधारसँग भने,‘पार्टीको निर्णय गरेर अघि सारेपछि पछि हट्ने कुरा आउँदैन । पार्टीले नै पठायो, त्यसैले राजीनामा दिएँ ।’
योसँगै प्रदेश १ को प्रदेशसभामा एमालेको सांसद संख्या घटेको छ । अब सभामुख प्रदीपकुमार भण्डारीसहित एमालेका ३९ सांसद मात्र कायम भएका छन् ।