काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस आधनम गेब्रेयसस तीनदिने औपचारिक भ्रमणका क्रममा अहिले काठमाडौंमा छन् । उनको यो दोस्रो नेपाल भ्रमण हो ।
उनले यहाँ रहँदा विश्व स्वास्थ्य संगठनले नेपालमा सञ्चालन गरेका स्वास्थ्यका विभिन्न कार्यक्रमको अवस्थाबारे जानकारी लिने र विशिष्ट व्यक्तित्वहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्रमन्त्रीलगायत व्यक्तित्वसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्र
नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको नियमित सहयोगसँगै कोभिड–१९ को महामारीयता खोपमा विशेष योगदान छ । नेपालमा हालसम्म प्राप्त भएको पाँच करोड ३३ लाख ८१ हजार ५७० डोज खोपमध्ये ५० प्रतिशतभन्दा बढी खोप कोभ्याक्स सुविधामार्फत नै आएको जनसंख्या मन्त्रालयको तथ्यांक छ । कोभ्याक्स विश्वका न्यून तथा मध्य आय भएका मुलुकहरूका लागि कोभिड–१९ विरुद्धको खोप पुर्याउन गाभी, युनिसेफ र डब्ल्यूएचओको सहकार्यमा सञ्चालन गरिएको अभियान हो
नेपालले कोभिड–१९ विरुद्धको खोप सुरु गरेको छोटो समयमा नै लक्षित जनसंख्याको ७० प्रतिशतभन्दा बढी नागरिकलाई खोप दिइसकेको भन्दै गत फेब्रुअरीमा डब्ल्यूएचओले बधाई समेत दिएको थियो । डब्ल्यूएचओको नेपालस्थित कार्यालयले लक्षित जनसंख्याको ७० प्रतिशत बढी नागरिकलाई खोप लगाउनुलाई ‘७० प्रतिशतको कोसेढुंगा’ पार गरेको जनाएको थियो ।
पछिल्लो समय नेपालमा विश्व स्वास्थ्य संगठनकै सहयोगमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ ।
को हुन् डा. गेब्रेयसस ?
पूर्वी अफ्रिकी मुलुक इरिट्रियाका नागरिक डा. टेड्रोस आधनम गेब्रेयसस डब्ल्यूएचओको नेतृत्व सम्हाल्ने पहिलो अफ्रिकी नागरिक हुन् । सन् २०१७ मा डब्ल्यूएचओको ७०औँ सभाले डा. गेब्रेयससलाई पाँच वर्षका लागि महानिर्देशकको जिम्मेवारी दिएको थियो । महानिर्देशकको छनोटका लागि उनलाई इथियोपिया सरकारले सिफारिस गरेको थियो ।
डब्ल्यूएचओको महानिर्देशक हुनुअघि उनले स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थाको नेतृत्वसँगै इथियोपियाका दुई मन्त्रालयको जिम्मेवारी समेत वहन गरिसकेका थिए । डा. गेब्रेयसस सन् २००५ देखि २०१२ सम्म इथियोपियाको स्वास्थ्यमन्त्री र सन् २०१२ देखि २०१६ सम्म परराष्ट्रमन्त्री थिए । स्वास्थ्यमन्त्रीको हैसियतमा रहँदा उनले इथियोपियाको स्वास्थ्य पूर्वाधार र स्वास्थ्य बिमाको क्षेत्रमा उल्लेखीय विकास गरेको विश्व स्वास्थ्य संगठनमा राखिएको डा. गेब्रेयससको प्रोफाइलमा उल्लेख छ ।
डब्ल्यूएचओमा एकवर्षे कार्यकालका क्रममा उनले स्वास्थ्य प्रवर्द्धन, विश्वलाई सुरक्षित राख्ने र कमजोहरूको सेवा गर्ने तथा ‘ट्रिपल बिलियन टार्गेट’लाई प्राथमिकतामा राखेका थिए । कोभिड–१९ को सुरुवातदेखि नै डब्ल्यूएचओले रणनीतिक तयारी र प्रतिकार्य योजना बनाएर महामारीविरुद्ध काम गरिरहेको छ । कोभिड–१९ महामारीमा विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रममार्फत विश्वका ९२ भन्दा बढी न्यून तथा मध्यम आय भएका मुलुकहरूले अनुदानमा खोप पाएका छन् ।