कर्णाली प्रदेशका सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र हरेक स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् ।
कर्णालीका १० वटै जिल्लाका जिल्ला सदरमुकाम मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले कर्णाली सबै पालिकामा निर्वाचन कार्यालय स्थापना गरिको जानकारी दिए ।
सुर्खेतको वीरेन्द्रनगरमा जल तथा मौसम विज्ञान कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्य र वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले कार्यालयको शुभारम्भ गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत आचार्यले मतपत्र वितरण, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अनुशिक्षणलगायतको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै हुने जानकारी दिए
उम्मेदवारको मनोनयन दर्तालगायतका कार्य भने सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयबाट हुनेछन् । निर्वाचन कार्यालय स्थापनासँगै निर्वाचन अधिकृत पनि सम्बन्धित निर्वाचन कार्यालयमा पुगेका छन् ।