नगर कार्यसमितिको मंगलबार बसेको बैठकले उम्मेदवार सिफारिसको निर्णय गरेको कांग्रेस धरानका सभापति श्याम पोखरेलले जानकारी दिए । उनकाअनुसार मेयरमा तिलक राई, उमेश थापा, सुजेन्द्र तामाङ, पर्वत राई, किशोर राई, श्यामा रेग्मी,अजय राई, गोविन्द दर्नाल,मिना पुलामीको नाम सिफारिस भएको छ ।
उपमेयरमा उर्मिला प्रधान, शिला ब्रजाचार्य, निलकुमारी थापा गिरी, कुसुम ओली आचार्य, निर्मला शाक्य, मनिता घिमिरे, हिमाल राई, झुमा राई, सन्तोष बिक र कोपिला भट्टराई सिफारिस गरिएको छ । सभापति पोखरेलकाअनुसार मेयर र उपमेयरमा सिफारिस भएका नामहरु जिल्ला कार्यसमितिलाई पठाइएको छ ।
गठबन्धन दलबीच धरानमा कुन दलले कुन-कुन पद पाउने भन्ने नटुंगिँदै कांग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको हो । उम्मेदवार सिफारिसबारे सुनसरी क्षेत्र १ का सभापति सुजेन्द्र गोले तामाङले भने, ‘धरानमा कांग्रेसको भागमा प्रमुख पक्कापक्की जस्तै हो । उपप्रमुख पद गठबन्धन दलमध्ये एक दलले पाउन सक्छन् ।’ उनका अनुसार माओवादी केन्द्रले उपप्रमुखसहित ८ वटा वडा मागे पनि पाँच वटा वडामा झारिएको छ भने जनता समाजवादी पार्टीलाई तीनबाट दुई वटा वडामा झारिएको छ । वडास्तरमा अझै सहमति भइनसकेको तामाङले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धरानले प्रमुख र उपप्रमुख पदका उम्मेदवार सर्वसम्मत चयन गरेको छ । प्रमुखमा नरेश शाक्य र उपप्रमुखमा पूर्णिमाया राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान प्रान्तीय मञ्च जिल्ला कार्यसमिति सुनसरीको अध्यक्ष अमर इजम धरानको प्रमुख पदको उम्मेदवारमा सर्वसम्मतले चयन भएका छन् । यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीले सुनसरी जिल्ला इन्चार्ज राजेश राईलाई उम्मेदवार चयन गरेको छ ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीले गठबन्धन र उम्मेदवार चयनबारे छलफल भइरहेको बताएका छन् ।
यस्तै एमाले र जनमुक्ति पार्टीबीच भने तालमेल गरी उम्मेदवार तय गर्ने तयारी भइरहेको जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले बताए ।