काठमाडौं– सत्तारुढ गठबन्धनको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक बालुवाटारमा सुरु भएको छ।
गठबन्धनका दलहरुबीच स्थानीय तहको बाँडफाँटको ‘प्रारुप’ तयार गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समितिको बैठक सुरु भएको हो।
आइतबार बिहान सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो। बैठकमा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा भोलि (सोमबार) सम्म टुंग्याउने सहमति भएको थियो।
महानगर र उपमहानगर बाहेकका स्थानीय तहको तालमेलको सन्दर्भमा प्रारुप बनाउन समितिलाई जिम्मा दिने निर्णय भएको थियो।
गठबन्धनको दल राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरीका अनुसार समितिको बैठकबाट स्थानीय तहको पदहरुको बाँडफाँटबारे प्रारुप तयार पारेर शीर्ष नेताहरुलाई बुझाइने छ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिमा गठबन्धनका दलहरु कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबाट नेताहरु सहभागी छन्।