सिमकोट – हुम्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकामा नेपाली कांग्रेसबाट आउँदो चुनावमा अध्यक्षका लागि ६ जना आकांक्षी देखिका छन् ।
कांग्रेस गाउँपालिका कार्यसमितिको बैठकमा ६ नेताले आफू अध्यक्षको उम्मेदवार बन्न चाहेको बताएका हुन् ।
नेपाली कांग्रेस सिमकोट गाउँपालिका कमिटीका सभापति धर्मराज रोकायाका अनुसार कमिटीका उपसभापतिद्धय कैलाश भण्डारी र बसन्त रोकाया, महाधिवेशन प्रतिनिधिद्धय सुशीला रोकाया र गणेश महत, पार्टी सचिव कृष्णबहादुर बोहरा र रामबहादुर भण्डारीले अध्यक्षका लागि आकांक्षा व्यक्त गरेका हुन् ।
आकांक्षी धेरै भएपछि बैठकले पार्टीको निर्देशनअनुसार एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न नसकेको उनले बताए । सहमतिको प्रयास भने जारी रहेको उनले जानकारी दिएका छन् ।
सहमति नभएको अवस्थामा ६ जनाको नाम नै सिफारिस गरिने छ । उपाध्यक्षका कुशुम शाही, पानकली लामा, रम्भा शाही र ताराबहादुुर लामाले आकांक्षा देखाएका छन् ।