काठमाडौँ– नेपाल परिवार दलले पनि स्थानीय तह चुनावमा सूर्य चिन्ह लिएर चुनाव लड्ने भएको छ। नेकपा एमाले र परिवार दलबीच भएको पाँच बुँदे सहमतिअनुसार परिवार दलले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएको हो।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दुई दलबीच चुनावी तालमेल गरेर अघि बढ्ने सहमति भएको छ। नेकपा एमालेका स्थानीय विकास विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको हो।
सहमतिअनुसार नेपाल परिवार दलका उम्मेदवारले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएका हुन्। निर्वाचनमा विजयी भएपश्चात भने नेपाल परिवार दलमै आबद्ध हुनेछन्।
देशभरका तालमेल सम्भव पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेद्वार उठाउने सहमति भएको छ। त्यस्तै नेपाल परिवार दलले आफ्नो उम्मेदवार नभएका सबै ठाउँहरुमा नेकपा एमालेका उम्मेदवारहरुलाई सघाउने र नेपाल परिवार दलका उम्मेदवारहरुलाई नेकपा एमालेले सघाउने सहमति भएको छ।
नेकपा एमाले र नेपाल परिवार दलका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्धमा उपयुक्त निर्णय गर्ने समेत सहमति भएको छ।
जिल्ला तहमा भएको छलफल र सहमतिका सम्बन्धमा आ–आफ्ना प्रदेश र केन्द्रीय नेतृत्व समक्ष नियमित रुपमा प्रतिवेदन प्रस्तुत गर्ने समेत सहमति दुई पार्टीले गरेका छन्।
स्थानीय तह निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा नेपालका उम्मेद्वारले पनि सूर्य चिन्ह लिएरै चुनाव लड्ने छन्। राप्रपा नेपाल र एमालेबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। सोहीअनुसार राप्रपा नेपालका उम्मेद्वारले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएका हुन्।