वीरगंज | पछिल्लो समय जनता समाजवादी पार्टी विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी समेत सत्ता गठबन्धनमा सहभागी हुने प्रयासमा देखिएको थियो। आफ्ना केही मागहरू अगाडि सार्दै त्यसलाई सम्बोधन भएको अवस्थामा लोसपा सरकारमा सहभागी हुने र लोसपाको तर्फबाट शरतसिंह भण्डारी मन्त्री बन्ने तयारी भएका थिए।
सरकारमा सहभागी नभए पनि स्थानीय तहसँगै प्रदेश र केन्द्रको निर्वाचनमा कमसेकम नेपाली कांग्रेससँग गठबन्धनका लागि लोसपा सकारात्मक देखिएको थियो। तर मङ्गलवारबाट लोसपाका लागि कांग्रेससँग मात्रै हैन सरकारमा रहेका कुनै दलसँग पनि गठबन्धन हुने ढोका बन्द भएको छ।
मङ्गलवार जनता समाजवादी पार्टीको जोडमा सरकारमा रहेका पाँच दलका शीर्ष नेताहरूको बैठकले सरकारमा सहभागी पाँच दलबाहेक अन्य दलसँग गठबन्धन गर्न नपाइने निर्णय गरेका छन्। यसले अब प्रमुख प्रतिपक्षी दल एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी सहित सरकारमा रहेका गठबन्धन बाहिरका दलहरूसँग गठबन्धन गर्ने बाटो खुलेको छ।