वीरगन्ज | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेहरुलाई बल्ल सही पार्टीमा आएको बताएका छन्। आज पर्सा आइपुगेका अध्यक्ष ओलीले वीरगन्जको घण्टाघर चोकमा भएको वृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।मधेश विरोधीको संज्ञा पाएकै स्थानमा उभिएर यो पटक भने अध्यक्ष ओलीले अरु पार्टीमा कतै अल्मलिएका नेता कार्यकर्तालाई देश बनाउने पार्टी एमालेमा नै आउन आग्रह गरे।
‘एमाले सबैको पार्टी हो, केही साथीहरु कतै अल्झिएर बस्नु भएको छ हाम्रो पार्टीमा आउनुस्’ उनले भने। केही अविश्वासी दलहरूको भ्रममा परेर कसैले पनि अब अल्मलिनु नहुने उनले तर्क गरे।
यस अघि दुई पटक यहाँ आउँदा वीरगन्ज महानगरपालिका र जगरनाथपुर गाउँपालिकाका मेयर र अध्यक्ष लगायतलाई नै एमालेमा प्रवेश गराएर ओलीले राजनीतिक तरंग पैदा गरेका थिए।यो पटक भने ओलीले सखुवाप्रसौनी गाउँपालिका र बहुदरमाई नगरपालिकाका उपाध्यक्ष र उपप्रमुख लगायतलाई पार्टीमा प्रवेश गराएका छन्।
सुनियोजित ढंगले कोखामा भएको सिङबाट हानेर बाहिर पारिएको एमालेमा देशैभर जनताको प्रवेश लहर चलेको बताउदै ओलीले न्यायालय तर्फ पनि तीखो प्रहार गरे।‘विश्वमा अदालतले सरकार कहीँ बनाइ दिदैन, यो गलत र अपवित्र ढंगले बनाइदिएको सरकारकै कारण देशमा आर्थिक तरलता भएको छ। भिजन र काम गर्ने अठोट नभएको सरकारका कारण देश संकटमा परिसक्यो’ उनले भने।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सुनकोशीको पानी मरिन डाइभर्सन गरी तराईका खेत सिंचित गरेर कृषि फसल बढाई निर्यातसम्म गर्ने भिजन एमालेसँग रहेको बताए। साथै एमाले मधेश विरोधी कहिल्यै नहुने दावी गरे।गत निर्वाचनमा केही राम्रा मान्छे निर्वाचित भए पनि गलत पार्टीमा भएको कारण राम्रो काम गर्न नसकेको तर्क गर्दै उनले एमालेमा आउने कसैले पनि पछुतो हुन नपर्ने दावी गरे।’देश निर्माणमा ठोस याेजना बनाइ सही भिजनका साथ काम गरेर गौरव गर्ने पार्टी बनाउँछु सबैले साथ दिनोस्’ उनले भने।