एपी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधका लागि मुद्दा चलाउन आह्वान गरेका छन् । उनले युक्रेनमा अमानवीय ढंगले हत्या र हिंसा गरेको कारण आफूले रुसमाथि थप नयाँ नाकावन्दी लगाउने बताएका छन् ।
बाइडेनले युक्रेनको बुचा सहरको स्थितीबारे स्मरण गराउँदै पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा दिएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राजधानी किभलाई घेर्ने सहरहरुमध्ये एक बुचाको स्थलगत भ्रमण गरेपछि बाइडेनको यो अभिव्यक्ति सार्वजनिक भएको हो । युक्रेनी अधिकारीहरुले बुचामा नागरिकका थुप्रै शव भेटिएको दाबी गरेका थिए ।
जेलेन्स्कीले रुसी कार्यलाई ‘आम नरसंहार’को संज्ञा दिँदै पश्चिम जगतलाई रुसमाथि कडा नाकावन्दी लगाउन आह्वान गरेका छन् । हालै रुसी नियन्त्रणबाट फिर्ता लिइएको बुचामा ४१० जना सर्वसाधारणको शव फेला परेको छ ।