वीरगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले भौगोलिक अखण्डतासँग खेलबाड गरेको आरोप लगाएका छन् । नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशनमा अध्यक्ष ओलीले यो गठबन्धनले राष्ट्रियता र भौगोलिक अखण्डतामाथि खेलबाड गरेको आरोप लगाएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको चुच्चे नक्सा हटाइएको भन्दै उनले आपत्ति जनाए । ‘दिल्ली दूतावासमा हाम्रो संविधानले बनाएको,संविधान संशोधन गरी राखेको चुच्चे नक्सा हटाइएको छ। ‘ बुच्चे नक्सा राखिएको छ,’ओलीले भने,’ चुच्चे नक्सा राखेर फर्किनुहुन्छ त शेरबहादुर जी?’
अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले राष्ट्रियता, भौगोलिक अखण्डतासँग सौदाबाजी गरेको आरोप लगाए । उनले भौगोलिक अखण्डतासँग खेलवाड गर्न नपाइने भन्दै आक्रोश व्यक्त गरे। अध्यक्ष ओलीले चुनाव नजिकिदै गर्दा प्रधानमन्त्रीको भारत भ्रमण शंकास्पद भएको बताए।
‘ केका लागि जानुभएको हो दिल्ली ,’उनले भने,’ यो सरकारलाई देशको नक्सा थाहा छैन, भूगोल थाह छैन भने के चाहिँ थाह छ ?’