वीरगन्ज । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।तीन दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो ।
भेटवार्तापछि प्रधानमन्त्री देउवा र मोदीले आजै जनकपुर–जयनगर रेल र नेपालमा भूकम्पपछि भारतीय सहयोगमा निर्माण भएका १३० स्वास्थ्यचौकीको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपालमा उत्पादित र नेपाललाई आवश्यकताभन्दा बढी भएको विद्युत् खरिदका विषयमा सम्झौताका लागि द्विपक्षीय छलफल हुनेछ ।
द्विपक्षीय सम्झौताको आदानप्रदान र प्रधानमन्त्रीले संयुक्तरूपमा प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवाले आजै दिउँसो ४ः३० बजे भारतका उपराष्ट्रपति वेन्कैया नायडूसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री देउवाले आजै साँझ भारतीय व्यापारिक समुदायसँग अन्तरक्रिया गर्नेछन् ।