वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवमाथि मन्त्री फिर्ता बोलाउन दबाव सुरु भएको छ । आफूले पाएको ४ मन्त्रालयमा अहिले भई रहेको मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन अध्यक्ष यादवमाथि नेताहरुले दबाव दिन थालेको हो ।
केही नेताहरूले अहिले संघीय सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन माग गरेका छन्। पहिले मन्त्री छान्दा ६ महिनाभित्र हेरफेर गर्ने कुरा भएकोभन्दै नेताहरुले अध्यक्ष यादबमाथि यस्तो दबाव दिएका हुन् ।
संसदीय दल र कार्यकारिणी समिति बैठकमा पनि अध्यक्ष यादवले छ महिनापछि नयाँ मन्त्री पठाउने हो भनेको भन्दै अध्यक्ष यादबलाई मन्त्री फिर्ता बोलाउन दबाव परेको बताइएको छ । गत असार २९ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका थिए।
जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन्।