हेटौंडा | जनप्रतिनिधि निर्वाचित भएको पाँच वर्ष पुग्न लाग्दा हेटौंडा उपमहानगरमा साढे ६ अर्ब रुपैयाँ बजेट परिचालन भएको छ। सबैभन्दा धेरै (करिब १ अर्ब) सडक निर्माण तथा मर्मतमा खर्च भएको छ। उक्त बजेट खर्चेर उपमहानगरले १९ वडामा १ सय २६ किमि सडक खनेको छ। कंक्रिट सडकमा १ अर्ब २० करोड ९५ लाख रुपैयाँ खर्च भएको छ। १ सय २८ वटा योजना सञ्चालन गरेर उपभोक्ता समितिमार्फत सडक खनिएको सूचना अधिकारी भानुभक्त थपलियाले बताए। सडक कालोपत्रे भने २.६ किमिमात्रै भएको छ।
त्यसका लागि ३ करोड १६ लाख खर्च भएको उपमहानगरले जनाएको छ। ‘४ वर्षमा ९ करोड १५ लाख खर्चेर ८५ किमि सडक मर्मत गर्यौं। कल्भर्ट तथा पुलपुलेसा बनाउन १७ करोड ६८ लाख खर्च भएको छ,’ उनले भने। उपमहानगरमा गाभिएका नयाँ वडामा ३५ किमि सडकको ट्र्याक खोलेको छ। ३६ किमि सडक ग्राभेलिङ गरेको छ। जसमा १ करोड २२ लाख रुपैयाँ खर्च गरेको छ। सडकबाहेक अन्य क्षेत्रमा भने उपमहानगरवासीले अपेक्षाअनुसारको विकास र परिवर्तनको अनुभूति सकेका छैनन्।
मेयर हरिबहादुर महतले पञ्चवर्षीय योजना बनाएर काम गर्ने बताएका थिए। फराकिलो र सफा सडक, स्वास्थ्य क्षेत्रमा सुधार, हेटौंडा बसपार्कलाई व्यवस्थित बनाउने, हेटौंडामा मोनो रेल र केवलकारको सम्भाव्यता अध्ययन, भूमिहीन र सुकुम्बासी समस्या समाधान, कर्रा खोला कोरिडोर विकास, व्यवस्थित सहरलगायतका महत्त्वाकांक्षी प्रतिबद्धता गरेका थिए। हेटौंडाको सडक विस्तारमा उपमहानगरले कुनै काम नगरेको मेयर महतका निकटतम प्रतिद्वन्द्वी आनन्दराम पराजुलीले बताए। ‘उपमहानगरले घोषणापत्रअनुसार कुनै काम गर्न सकेन,’ उनले भने। यो अवधिमा हेटौंडाका सडकमा फूल रोप्ने र प्रतीक्षालय निर्माणको काम भएका छन्।
विकास र पूर्वाधारलाई प्राथमिकता दिएर काम गरेको उपमेयर मीना लामाले बताइन्। उपमहानगरले कृषि थोक बजार, व्यवस्थित बसपार्क र वासुदेव बहुउद्देश्यीय भवनको निर्माण थाल्नुलाई महत्त्वपूर्ण उपलब्धि मानेको छ। ‘हामीले प्रतिबद्धता व्यक्त गरेका धेरै काम पूरा भएका छन्’, मेयर महतले भने। यहाँको वार्षिक बजेट डेढ अर्ब रुपैयाँभन्दा बढी छ।
हालको नेतृत्वले गरेका काममको समीक्षा सुरु भएको छ। साथै नयाँ नेतृत्वका लागि पनि नेताहरूले तयारी थालेका छन्। ‘प्रदेश राजधानीसमेत रहेको हेटौंडाका स्थानीयले अझै पनि भौतिक पूर्वाधार र आधारभूत सेवासुविधाकै लागि संघर्ष गरिरहनु परेको छ’, नागरिक अगुवा ऋषिराम पोखरेलले भने, ‘पहिलाको भन्दा धेरै काम भएको छ, तर अब आधुनिक सहरको रूपमा विकास गर्न योजनाबद्ध ढंगले काम गर्न सक्नुपर्छ।’