वीरगंज | बितेको छठ पर्वमा हिन्दु र मुस्लिम समुदायबिच झडप हुँदा ज्यान गुमाएका परिवारका १ जना सदस्यलाई रोजगारी र १० लाख बराबरको चेक हस्तान्तरण गरिएको छ ।
बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद रामबाबु यादवको निरन्तर प्रयासका कारण कलैया उपमहानगरपालिका १९ पचायनपुरमा भएको झडपमा ज्यान गुमाएका राधेश्याम पटेलका बुबा राजकुमार राउत कुर्मीलाई १० लाखको चेक हस्तान्तरण गरिएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश अध्यक्षसमेत रहेका यादवसहित प्रदेश सभा सदस्य पारस साह, बाराका प्रमुख जिल्ला अधिकारी, बाराका प्रमुख प्रहरी उपरीक्षक लगायतको उपस्थितीमा मृतकका बुबालाई क्षतिपुर्तीस्वरुप चेक हस्तान्तरण गरिएको हो ।
उक्त रकमले केही भएपनि सघाउ पुग्ने र केही समस्या समाधान हुने सांसद यादवको विश्वास छ । सांसद यादवले आगामी दिनमा पनि अरु सहयोगका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उक्त घटनामा संलग्न ८ जनामाथि कर्तव्य ज्यान मार्ने उद्योग मुद्धा दर्ता भइसकेको छ भने १ जनालाई पक्राउ समेत गरिएको प्रहरीले जनाएको छ ।