बिरगंज । नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य तथा काभ्रेली नेता रामकृष्ण हुमागाँईले काँग्रेससँग भित्री साँठगाँठ गरेर एमालेलाई हराउने गोप्य रणनीति बनाएको तथ्य बाहिरिएको छ । आसन्न स्थानीय तहको चुनावमा एमालेमै रहेर काँग्रेससँग गठबन्धन गर्ने तयारीबारे कांग्रेसका एक स्थानीय नेतालाई उनले गरेको रिपोर्टिंगको अडियो सार्वजनिक भएपछि यस्तो रणनीति बाहिर आएको हो ।
काँग्रेसका नेताहरुबाट लिक भएको ३ मीनेट ४२ सेकेन्डको उक्त अडियो संवादमा हुमागाँईले एमालेलाई अन्तर्घात गरेर हराइदिने बताएका छन् । संवादमा अर्को पक्षले पार्टी प्रवेशको सन्दर्भ उठाएपछि उनले कांग्रेसमा जाँदा एमालेको भोट काट्न नसकिने भएकाले एमालेमै बसेर गठबन्धन गर्ने योजना सुनाएका छन् । काँग्रेस प्रवेश गर्दा एमालेको भोट काट्न नसकिने भएकाले स्वतन्त्र उम्मेदवार बन्ने र काँग्रेससँग मिलेर चुनाव जित्ने उनको योजना अडियोमा सुन्न सकिन्छ ।
आफू निकट एमाले कार्यकर्तालाई कांग्रेस प्रवेश गराउँदा चुनावमा घाटा हुने पनि हुमागाँईको भनाइ छ । आफू स्वतन्त्र उम्मेदवार उठ्दा दुई हजारदेखि तीन हजारको हाराहारीमा एमालेको भोट काट्न सकिने उनले कांग्रेसका ती नेतालाई रिपोर्टिंग गरेका छन् । ‘मान्छे कति प्रवेश गर्छन् होइन भोट कति प्रभावित हुन्छ त्यो सोच्नुपर्छ अब’, एमाले हराउने उपाय सुनाउँदै उनले भनेका छन्, ‘त्यसैले बाहिरी प्रचारभन्दा पनि भित्री रणनीति बनाउनुपर्छ ।’‘मान्छे कति प्रवेश गर्छन् होइन भोट कति प्रभावित हुन्छ त्यो सोच्नुपर्छ अब’,
संवादका क्रममा उनले आफूनिकट कार्यकर्ता (निराजन) काँग्रेसमा प्रवेश गर्दा अप्ठेरो परेको पनि भनेका छन् । एमालेमा असन्तुष्टहरुलाई भित्री रुपमा संगठित गरिरहेको तर केही मान्छे खुलेरै कांग्रेसमा जाँदा आफूमाथि पार्टीका नेताहरुले शंका गर्न थालेको पनि उनले बताएका छन् । उनले भनेका छन्, ‘उनीहरुलाई शंका त थियो,तर यो कुरा थाहै पाएका थिएनन् । अब यिनीहरुले सिध्याउने भए भनेर अहिले मैले तयार गरेका १० जना जति मान्छे भाँडिसके ।’कांग्रेसकै केही नेतालाई आफ्नो यो योजना चित्त नबुझेको हो कि के हो भन्दै उनले संवादका क्रममा आशंका पनि गरेका छन् । चुनाव जितेपछि आफू कांग्रेस हुने तर अहिले त्यसो गर्दा चुनावमा फाइदा नहुने कुरा उनले जोड दिएर भनेका छन् ।
गत स्थानीय तहको चुनावमा कांग्रेसका उम्मेदवार रमेशको भोट साढे ५ हजार आएको र अशोक ब्यान्जुले २५ सय अन्तरले जितेको सुनाउँदै उनले आफू चुनावमा उठे तीन हजार मत एमालेबाट काट्न सकिने विश्वास कांग्रेस नेतालाई दिलाएका छन् ।