विराटनगर । सोमबार दिउँसो लेटाङको शिक्षा विकास मावि पुग्दा चकमन्न देखिन्थ्यो । विद्यालय छेवैका घरका ढोका बन्द थिए । अधिकांश घरका मानिस भित्रै थिए । उनीहरु बाहिर निस्कन डराएका थिए । लेटाङ चोकको दृश्य पनि त्यस्तै थियो । पसल बन्द थिए । मानिसहरु सडकमा देखिएनन् ।
सञ्चारकर्मीहरु पुगेपछि विद्यालय पश्चिमपट्टिको घरका दुईजना स्थानीय पिंढीमा निस्किए । उनीहरु त्रसित मुद्रामा थिए । ‘अब के होला ?’ भन्ने असमञ्जस देखिन्थ्यो । अघिल्लो दिनको घटना सम्झदा उनीहरुको आङ जिरिङ्ग भएको महसुस गर्न सकिन्थ्यो । घटनाबारे बताउन डराएका थिए ।
एक जना महिला प्रहरीको मृत्यु हुने गरी आइतबार भएको घटनापछि प्रशासनले लेटाङ क्षेत्रमा कर्फ्यू जारी गरेको छ । सुनसान सडकमा प्रहरीको गस्तीबाहेक अन्य गतिविधि शुन्यप्राय छ । पसल, बजार र यातायात बन्द छन् ।
लेटाङ चोकबाट दुई किलोमिटर उत्तरपूर्वमा अवस्थित शिक्षा विकास मावि परिसर छिर्दै गर्दा गेट नजिकै ठूला पानीका ट्यांकी भुइँमा असरल्ल देखिन्थे । विद्यालयको गेटमास्तिर टांगिएको कुच्चिएर कच्याक कुचुक्क भएका छन् ।
अघिल्लो दिन बोर्ड प्रदर्शनकारीले इँटाढुंगाले हानेका थिए । चौरको केही दक्षिणमा एउटा स्कुटर जलेर खरानी भएको छ ।
विद्यालय परिसरभित्र ढुंगा, इँटा र सिसाका टुक्रा यत्रतत्र छरिएका थिए । दक्षिणपट्टिको गेट नजिकै जलेर खरानी भएको मोटरसाइकलको अवशेष मात्र छ । आइतबार रणमैदान बनेको विद्यालयका कक्षाकोठाहरु पनि सग्ला छैनन् । प्रत्यक्षदर्शीका अनुसार बाहिरबाट आएका प्रदर्शनकारीले प्रहरीमाथि घरेलु हतियार, ढुंगा र सीसा प्रहार गरे । घटना अत्यन्तै दुःखद र त्रासदीपूर्ण भएको स्थानीयले बताएका छन् ।
विद्यालयमा किन एक्कासी झडप भयो ?
शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले विद्यालय घेराऊ गरेका थिए । आइतबार दिउँसो १ बजेको समयमा स्थानीयले शिक्षकलाई नै कुटपिट गर्ने अवस्था आएपछि थप मद्दतका लागि विराटनगरबाट प्रहरीको गणको टोली लेटाङ पुगेको थियो । तर, अवस्था सामान्य हुन सकेको थिएन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमबहादुर मगरका अनुसार शिक्षकले गरेको दुर्व्यवहारबारे विद्यालयमै छलफल गर्ने तय भयो । शिक्षक पौडेल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक र लेटाङकी उपमेयर कृष्णकुमारी पोखरेल विद्यालयको मिटिङ हलमा बैठकमा थिए ।
त्यहाँ छलफल चलिरहँदा पीडित विद्यार्थीलाई झिकाएर घटनाबारे बुझ्ने निर्णय भयो, बोलाइयो । तर, कोठामा प्रवेश गर्नासाथ बेहोस् भएर ढलिन् । एम्बुलेन्स बोलाइयो । पछि अर्को सिटी सफारी पनि झिकाइयो । पीडित बालिकालाई सिटी सफारीमा राखेर अस्पताल लग्ने भनियो । शिक्षकलाई विद्यालयबाट बाहिर लैजान एम्बुलेन्स प्रयोग गर्ने प्रस्ताव भयो । त्यसपछि नाराबाजी गरिरहेका विद्यार्थी झन् आक्रोसित बने । “बेहोस् भएकी छात्रालाई सिटी सफारी अनि पीडकलाई केही नभएको अवस्थामा किन एम्बुलेन्समा लैजाने भन्दै विद्यार्थीले ढुंगामुढा प्रहार गर्न थाले । मोटरसाइकलमा आगजनी गरे । विद्यालयमा प्रधानाध्यापकलाई पनि हातपात गरे । त्यसपछि स्थिति झन् बिग्रियो,” अध्यक्ष मगरले सुनाए । प्रहरीका अनुसार प्रदर्शनकारीले पेट्रोल बम बनाएर प्रहरी टोलीतर्फ आक्रमण गरे । त्यसपछि प्रहरीबाट जवाफी कारबाहीका क्रममा अश्रुग्यास प्रहार भयो ।
५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले आइतबार विद्यालय घेराऊ गरेका थिए ।
घटनाले उग्र रुप लिएपछि प्रहरीलाई घटना नियन्त्रण लिन असम्भव भयो । दिउँसोबाट प्रदर्शन र झडप शुरु भयो । राति अबेरसम्म झडप हुँदा आक्रमणमा परी महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भयो । प्रत्यक्षदर्शीको भनाईअनुसार विद्यालयबाट शिक्षक पौडेललाई प्रहरी टोलीले राति लैजाँदा पश्चिम दक्षिणपट्टी नाराबाजी गरिरहेका प्रदर्शनकारीले प्रहरी टोलीलाई पच्छ्याए ।
ढुंगामुढा गर्दै घरेलु हतियारले प्रहार गरे । धराने चोक नजिकै श्रेष्ठमाथि आक्रमण भयो । प्रहरी टोलीबाट उनी केही पछि परेको बताइएको छ । घाँटीमा धारिलो हतियारले हानेको चोट देखिएको थियो । उपचारार्थ अस्पताल लैजाँदै गर्दा उनको मृत्यु हुन पुग्यो ।
‘शिक्षकलाई दिउँसै निकालेको भए प्रहरी मर्ने थिइनन्’
मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, प्रदेश नम्बर १ प्रहरी कार्यालयका डीआईजी अरुणकुमार बिसी, सशस्त्र प्रहरी बल पकली सुनसरीका डीआइजी जनक गिरीसहितको सुरक्षा टोली विद्यालय क्षेत्र पुगेर घटनाको स्थलगत अवलोकन गरी जानकारी लिएका छन् । विद्यालय परिसर पुगेको सुरक्षाकर्मीको टोलीले घटनाबारे सुक्ष्म रुपमा अध्ययन गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ५ का अध्यक्ष भूमबहादुर मगरले सुरक्षा अधिकारीहरु समक्ष शिक्षक पौडेललाई दिउँसै विद्यालयबाट निकालिएको भए साँझमा घटनाले उग्र रुप लिएर महिला प्रहरीको ज्यान जाने ढंगको आक्रमण नहुने आफूहरुको बुझाई भएको बताए । “प्रहरीको मद्धतको लागि सशस्त्र प्रहरीे संख्या बढाएर दिउँसै शिक्षकलाई विद्यालयबाट निकालेको भए साँझमा थप हिंसात्मक प्रदर्शन हुने थिएन । महिला प्रहरीको मृत्यु हुने थिएन,” सुरक्षा अधिकारी समक्ष उनले भने ।
विद्यार्थी–अभिभावकले विद्यालयमा जम्मा भएर आरोपित शिक्षकले राजीनामा गर्नुपर्ने र उनलाई प्रहरीको जिम्मा लगाउनुपर्ने माग गरेका थिए । तर, घटनालाई न्यायिक समितिमा लगेर छलफल गर्ने र मिलाउने प्रयास भएका कारण पनि हिंसात्मक ढंगको आक्रमण भएको प्रत्यक्षदर्शीले पनि बताएका छन् ।
प्रजिअ काशिराज दाहालले प्रहरी अनुुुसन्धान जारी रहने र घटनामा संलग्नलाई कारवाही हुने बताए । उनले अब अवस्थालाई सामन्य बनाउन स्थानीयले नै पहल लिनुपर्ने आग्रह गर्दै भने,“कर्फ्यू धेरै समयसम्म लगाउन सकिँदैन अब तपाईंहरुले नै अवस्था सामान्य बनाउन पहल गर्नुपर्छ । छलफल चलाउनु पर्छ । दुर्व्यवहार घटनामा पनि प्रहरीले अनुसन्धान शुरु गरिसकेको छ । जनजीवन सामान्य होस् भन्ने हाम्रो पनि चाहना हो ।”
दाहालका अनुसार घटनामा २० प्रहरीसहित २७ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालयका डीआईजी अरुणकुमार बीसीले घटनाका दोषी सजायको भागिदार हुने र कोही पनि उम्कन नसक्ने बताए । स्थानीय प्रत्यक्षदर्शीले पनि प्रहरी फोर्स बढाउन ध्यान दिएको भए घटना यति उग्र नहुने आफूहरुको बुझाई रहेको बताएका छन् ।
प्रहरी फोर्स बढाएको भए हिंसात्मक घटना हुने थिएन
वीरबहादुर तामाङ, प्रत्यक्षदर्शी
तुरुन्त प्रहरी फोर्स बढाएको भए घटना हुने थिएन । गाउँ अस्तव्यस्त हुने थिएन । बालबच्चा बचाउनु थियो । भागा रे भाग भयो । पहिले पनि यस्तै अभद्र व्यवहार गरेको शिक्षकमाथि आरोप थियो । पहिले पनि छलफल गरेर आइन्दा यस्तो हर्कत नदोहोर्याउने भनेका थिए । यो पटक पनि विद्यालयमै छलफल गर्न बोलाइएको थियो । राजीनामा गरे छाड्ने भन्ने थियो । तर, राजीनामा गर्दिन भन्दै प्रतिवाद गरे । विवाद झन् चर्कियो । धेरै मानिस थिए । हेर्दा हेर्दै ढुंगामुढा गरे । शिक्षकलाई विद्यालयको कक्षामा राखिएको थियो । विद्यार्थी एक कुनामा थिए । अपराधीलाई कार्वाही गर भन्दै नारावाजी भइरहेको थियो । बाहिरबाट आएका मानिसले ढुंगामुढा गरे ।
पदममाया राई, प्रत्यक्षदर्शी
बेलुका खान पनि नखाई सुतियो । भित्र डरले जान सकिन । बाहिरै कुदेर बसे । घर जान्थे । फेरि हेर्दे । पानीमात्र खाएर बसियो । तर्खामात्रै लाग्यो । बुहारीले थोरै भात पकाएर दिएकी थिइन् । खाइन । रुच्दै रुचेन । आँखाभरि आँसुमात्र आइरह्यो । अब के होला भन्ने भई रह्यो । दिनभरि कामेको काम्यै भए ।
गणेश घिमिरे, प्रत्यक्षदर्शी
पहिले दुई तीनवटा प्रहरीको गाडी हुइँकिएर गयो । हामीले थाहा पाउँदा एक जना महिला प्रहरीको मृत्यु भइसकेको भन्ने सुनियो । तर, हाम्रो घर अगाडिसम्म केटाहरुले लखेट्दै ल्याएको देखियो । के आयो भनेर बार्दलीबाट हेर्यौँ । राति ८ बजेतरि एक्कासि फायरिङ हुन थाल्यो । आँखा पोलेर हेर्नै सकिएको थिएन । एकछिनमा त हाम्रै घर अगाडिको सडकमा प्रहरीलाई पो लडाएछन् ।
दुई तीनवटा गाडी पहिले गए । दश पन्ध्र जना प्रहरी पछि सर्दै जाँदै थिए । धराने चोक नजिकै ढुंगा हानाहान भयो । गोली चलेको सुनियो । हामी निस्कदा शव उठाएर लगेछन् । सडकभरि रगतको आहाल थियो । सडकमा त्यो ठाउँलाई काठका मुड्काले प्रहरीले नै घेरेर राखेका थिए । सोमबार प्रहरीको टोली आएर त्यहाँ छानबिन गरे । खेततिर गएर पनि के के खोजेको देखियो । हामीले घरको बार्दलीमै बसेर हेर्यौँ । नजिक गएनौं । घटना पछाडि प्रहरी आए । घर खानतलासी गरे । समूहमा आएका थिए । फेरि फर्किएर आएनन् । बिहानमात्र अर्को टोली आयो । महिला प्रहरी लडेको नजिकबाट देखिएन । ठूलो हुलहुज्जत थियो । हाम्रै घरपश्चिमको सडकमा रगत लत्तपतिएको थियो ।