वीरगञ्ज | शनिबार बिहान युक्रेनको राजधानी किभलगायत धेरै शहरहरूमा आक्रमणको साइरन सुनिएको थियो । युक्रेनले फेरि एकपटक रसियाले दक्षिणी सहर मारियुपोलबाट नागरिकलाई सुरक्षित रूपमा बाहिर निस्कन नदिएको आरोप लगाएको छ । युक्रेनी सरकारले मारिउपोलको अवस्था झन् खराब हुँदै गएको बताएको छ । हालसम्म मारिउपोलमा १ हजार ५०० व्यक्तिको मृत्यु भइसकेको छ र बाँचेकाका लागि खाना र पानी पनि नभएको बताइएको छ । यससँगै उनीहरू बिजुलीबिना चिसो दिनरात काट्न बाध्य भएको बताइएको छ ।
शनिबार युक्रेनी अधिकारीहरूले देशको उत्तरपूर्वी सहर सुमीबाट नागरिकलाई बाहिर निकाल्नका लागि मानवीय कोरिडोर निर्माण गर्ने सम्झौता भएको बताएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आमाहरूलाई आफ्ना छोराछोरीलाई युद्धमा नपठाउन आग्रह गर्दै भिडियो सार्वजनिक गरेका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसविरुद्धको युद्धमा भाग लिन युक्रेनमा आफ्ना सेना नपठाउने बताएका छन् । यद्यपि, उनले रुसी धनाढ्यमाथिको प्रतिबन्ध बढाउने बताएका छन् ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा रुसले युक्रेनमा जैविक हतियार निर्माणका लागि अमेरिकाले गतिविधि गरेको दाबी गरेको छ । तर, रुसले आफ्नो पक्षमा कुनै प्रमाण पेश गरेको छैन ।युक्रेनले आगामी दिनमा बेलारुसले रुसलाई युद्धमा सहयोग गर्न सक्ने बताएको छ ।