रुस | विश्वभर नै तीव्र गतिमा प्रयोगकर्ता विस्तार भइरहेको सामाजिक सञ्जाल टिकटकले रुसबाट नयाँ सामग्री अपलोड गर्न र ‘लाइभ स्ट्रिम’ गर्न नपाउने नियम लागू गरेको छ। रुसले हालै युक्रेनको युद्धसम्बन्धी तथ्यपूर्ण समाचार प्रकाशित गर्ने सञ्चारमाध्यमलाई दबाउनका लागि ‘फेक न्युज’ कानुन ल्याएको छ।
रुसको विपक्षमा जाने खालका विशेषगरी रुसी सैनिकबारे कुनै पनि खबर प्रकाशित भएमा त्यसलाई ‘फेक न्युज’ को संज्ञा दिइने र १५ वर्षसम्मको जेल सजाय हुने व्यवस्था कानुनमा छ। त्यसपछि टिकटकले नयाँ सामग्री अपलोड गर्न रुसमा प्रतिबन्ध लगाएको हो।
आफ्ना कर्मचारी र प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राखेर नयाँ नियम लागु गरिएको टिकटकले जनाएको छ।
नयाँ कानुन आएपछि सीएनएन, बीबीसी, एबीसी न्युज, सिबिएस न्युज, ब्लुम्बर्गसहितका ठूलो अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले रुसमा आफ्नो सेवा बन्द गरेका छन्।
रुसमा हाल टिकटकका तीन करोड ६० लाख प्रयोगकर्ता छन्।