वीरगञ्ज |वीरगञ्जको एक कुखुरा फार्मको कुखुरामा बर्डफ्लु संक्रमण भेटिएको छ। वीरगञ्ज महानगरपालिका–१५ भेडियाही टोलमा रहेको कुखुरा फार्ममा बर्डफ्लु देखिएको हो।भेडियाही टोलमा सागिर अन्सारीले सञ्चालन गरेको कुखुरा फर्ममा रहेका कुखुरामा बर्डफ्लु देखिएको पशु क्वारेन्टाइन कार्यालय पर्साका प्रमुख डा हरेराम यादवले जानकारी दिए।
अन्सारीले सञ्चालन गरेको कुखुरा फार्ममा रहेको १९ सय जति कुखुरा मरेपछि पशु क्वारेन्टाइन कार्यालय पर्साबाट गएको टोलीले परीक्षण गरेको थियो।परीक्षणका क्रममा ती कुखुरामा बर्ड फलु देखिएको उनले बताए।बर्डफ्लुको संक्रमण कुखुरामा देखिएपछि उक्त फार्ममा रहेको ३० वटा जिउँदो, २ हजार पिस अण्डा, ३ क्विन्टल कुखुराको दाना, ३ हजार थान अण्डा राख्ने खाली कैरेट नष्ट गरिएको यादवले बताए।
मरेका १९ सय कुखुरालाई खाल्डोमा पुरेर नष्ट गर्नुका साथै उक्त फार्मलाई सिल गरिएको यादवले जानकारी दिए। वीरगञ्जको मुख्य बजारमा भएको कुखुरा फार्ममा बर्ड फ्लु संक्रमण देखिएपछि आसपासका अन्य फार्ममा पनि परीक्षण गर्ने तयारी गरिएको उनले बताए।