मस्को । रुसले पश्चिमा देशले आफूमाथि लगाइएका प्रतिबन्धका असर कटौती गर्ने उद्देश्यले सन् २०२२ को अन्त्यसम्मका लागि दुई सय किसिमका भन्दा बढी विदेशमा उत्पादित वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको छ ।
यसबाट विगतमा विदेशबाट रुसतर्फ आयात हुँदै आएका टेलिकम, कृषि, विद्युतीय र प्रविधिसम्बन्धी उपकरणहरूको आयत प्रभावित हुने भएको छ । रुसको यस प्रतिबन्ध नीतिबाट संयुक्त राज्य अमेरिका र युरोपेली संघ लगायत करिब ४८ वटा मुलुक प्रभावित हुने भएका छन् ।
रुसी प्रधानमन्त्री मिखाइल मिसुस्तिनद्वारा हस्ताक्षरित आदेश पत्रमा भनिएको छ, “रुसी बजारमा स्थिरता प्रदान गर्न विदेशमा उत्पादन गरिएका समानहरूको आयात माथि बन्देज लगाउनु आवश्यक छ ।”
प्रतिवन्धित अन्य वस्तुहरूमा कार, रेलवे डिब्बा, कन्टेनर र टर्वाइनहरू रहेका छन् । युक्रेनमाथि आक्रमण गरेको कारण पश्चिमी जगतले रुसको वित्तीय प्रणाली र ऊर्जामाथि कडा प्रतिबन्ध लगाएको प्रत्युत्तरमा रुसले यो कदम चालेको हो ।
रुसी सरकारी अधिकारी र ठूला व्यापारीका पनि सम्पत्ति रोक्का गरिनुका साथै तिनीहरूका यात्रामा प्रतिबन्ध लगाइएको छ । हालै सार्वजनिक भएको तथ्याङ्क विवरण अनुसार रुस संयुक्त अधिराज्यको १९औँ सबैभन्दा ठूलो व्यापार साझेदार हो । यी दुई मुलुकबीच कुल १५ अर्ब ९० करोड पाउन्ड बराबरको व्यापारिक कारोबार भएको छ ।
बीबीसीबाट ।