वीरगंज | ‘पार्टी एमसिसीविरुद्ध जाला, त्यही बहानामा उपेन्द्रसँग अलग्गिउँला’ भन्ने डा.बाबुराम भट्टराईको चाहनामा अंकुश लागेको छ । पार्टी नफुट्ने, एमसिसी पनि पारित हुने कुराले बाबुरामलाई कति पोलेको छ भन्ने कुरा पारित हुने दिन बिहानको बैठकमा उहाँको तर्फबाट बोल्ने कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले व्यक्त गरेका थिए ।उनले भने, ‘यो नाटक भयो । एमसीसी जस्ताको तस्तै पास गर्नुपथ्र्यो । १० थरि व्याख्यात्मक टिप्पणी राख्नु बेकारको कुरा हो । यो आवश्यक छैन, वाहियात हो ।’ उनले व्याख्यात्मक टिप्पणीको एजेण्डा माओवादी र प्रचण्डको भन्दै त्यसलाई सम्झौतामा संलग्न गरिरहनु नपर्ने जिकिर गरे । भने, ‘हामीले यसको पक्ष लिइरहनु जरुरी छैन । जस्ताको तस्तै पास गर्ने भनेर निर्णय लेख्नुपथ्र्यो ।’
उनले एमसीसी मधेशको पक्षमा रहेको भन्दै मधेशको विकास भएको देख्न नचाहनेहरुबाट यसको विरोध भइरहेको बताए । ‘हामीले पार्टीबाट व्याख्यात्मक होइन कि जस्ताको तस्तै पास गर्नुपर्छ भन्ने निर्णय गरौँ । सांसदले जे गर्छन्, त्यहीँ हुने कुरा छँदैछ’, उनले भने ।बैठकमा बाबुरामले ‘पातलो धोतीले लाज छोपेजस्तो’ भन्दै प्रचण्डको लाज छोप्ने कुरामा आफूहरु पछि लाग्न नहुने बताउनुभयो । भन्नुभयो, ‘यसमा कुनै राष्ट्रघात छैन । देशघात छैन । देशलाई अहित हुने कुरा केही पनि छैन । जस्ताको तस्तै पास हुनुपर्छ भन्ने निर्णय हुनुप¥यो ।’
त्यसदिनको बैठकमा अध्यक्ष उपेन्द्र यादवले खासै बोल्नुभएन । बालकुमारीमा आयोजित उक्त बैठकमा कार्यकारिणी समितिका ३४ जनामध्ये धेरैजसो उपस्थित थिए ।त्यसको अघिल्लो दिन बाबुरामले भन्नुभएको थियो, ‘पार्टीभित्र ठूलो समस्या छ, यसलाई सामान्य नठानौँ । यस्तै रवैया हो भने पार्टी एक नहुन सक्छ । यो बैठक अन्तिम पनि हुनसक्छ । देशमा आजभोलितिरै ठूलो घटना पनि घट्न सक्छ । पार्टीहरु ध्रुविकृत भएका छन् ।’
तर, भोलिपल्टै व्यख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन हुनाले बाबुरामले फुटाउन तयार पारेको पार्टी जोगिएको उक्त पार्टीका नेताहरु बताउँछन् । बाबुरामले बैठकमा दुई जनाको सही गरेर मात्रै टिकट दिने व्यवस्थाको माग गर्नुभयो । ‘अशोक राईजीको सहीले मात्र हुँदैन’ उहाँले भन्नुभयो, ‘यो न्युक्लियर बम राख्दा पड्काइहाल्छ भन्ने होइन, तर अर्कोको लागि खतरा भयो भन्नेचाहिँ पक्का हो ।’उहाँले दुई हस्ताक्षरको व्यवस्थाले सन्तुलन निर्माण हुने र भोलि सबै कुराहरु मिल्दै गएपछि एक जनाको मात्रै हस्ताक्षर चल्ने अवस्था बनाउन सकिने बताउनुभयो । तर हिजो जसपाले अशोक राईको मात्रै हस्ताक्षर चल्ने निर्णय गरेको छ ।