नेपालमा एकैदिन १३ हजारभन्दा बढी संक्रमण पुष्टि भएको ओमिक्रोन भेरियन्टले अन्य भेरियन्टबाट बचाउने अध्ययनहरूले दाबी गरेका छन् । तर, विज्ञहरूले छुट्टै प्रकृतिको अर्को भेरियन्ट आउन सक्ने बताउन थालेका छन् । यद्यपि, हालसम्मका भेरियन्टविरुद्ध खोप आइसकेको र शरीरमा एन्टिबडी पनि उत्पादन भइसकेकाले अर्को भेरियन्टले गम्भीर अवस्था ल्याउने जोखिम घटेको वैज्ञानिकहरूको भनाइ छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार, भेरियन्ट अफ कन्सर्नको सूचीमा हालसम्म अल्फा, बिटा, गामा, डेल्टा र ओमिक्रोनलाई राखिएको छ । भाइरसमा लगातार आनुवंशिक उत्परिवर्तन भइरहेका छन् । ओमिक्रोन भेरियन्टसँगै कोभिड भाइरस ‘इन्डेमिक’तिर लाग्ने र अर्को संक्रामक भेरियन्ट नआउने अनुमान गरिए पनि कोभिड भाइरस उत्परिवर्तनको सीमाबारे भाइरोलोजिस्टहरू यकिन गर्न नसकिने बताउँछन् । भाइरोलोजिस्ट डा. शेरबहादुर पुन भन्छन्, ‘भाइरसमा आनुवंशिक परिवर्तन निरन्तर भइरहे पनि मानव स्वास्थ्यमा पार्ने प्रभावबारे समेत अध्ययनले हालसम्म पत्ता लगाउन सकेको छैन । तर, अनुसन्धानबाट जिनोमको राम्रो अंश प्रतिस्थापन गर्नका लागि क्लिनिकल अध्ययन विश्वभरि भइरहेका छन् । तसर्थ, अर्को भेरियन्टको जोखिम अहिले अनुमान मात्र गर्न सकिन्छ ।’
भाइरसमा तीव्र उत्परिवर्तन
कोलम्बिया विश्वविद्यालयका माइक्रोबायोलोजी र इम्युनोलोजीका प्राध्यापक भिन्सेन्ट राकानिलाले भाइरसको जिनोमका आधारमा भाइरसको प्रकृति पत्ता लगाउन सकिने बताए । उनका अनुुसार कोरोना भाइरसको आनुवंशिक कोड चार फरक रासायनिक आधारहरू वा अणु मिलेर बनेको छ । जसलाई विज्ञहरूले अल्फाबेटका रूपमा बुझ्न सकिने बताउँछन् । उक्त कोभिड भाइरसको आनुवंशिक कोड २९ हजार आठ सय ८१ अक्षर मिलेर बनेको छ । जसले नौ हजार आठ सय ८० एमिनोएसिड बनाउन निर्देशन दिन्छ र भाइरसको प्रोटिनलाई ब्लक गर्न सक्छ । तर, यी रासायनिक आधारमा निरन्तर आइरहेको परिवर्तनले एमिनोएसिड पनि परिवर्तन भइरहेका छन् जसले भाइरसको प्रोटिनको आकारलाई असर गरिरहेको छ ।
अर्को भेरियन्टको जोखिम अहिले अनुमान मात्र
डा. शेरबहादुर पुन, भाइरोलोजिस्ट
भाइरसमा आनुवंशिक परिवर्तन निरन्तर भइरहे पनि मानव स्वास्थ्यमा पार्ने प्रभावबारे समेत अध्ययनले हालसम्म पत्ता लगाउन सकेको छैन । तर, अनुसन्धानबाट जिनोमको राम्रो अंश प्रतिस्थापन गर्नका लागि क्लिनिकल अध्ययन विश्वभरि भइरहेका छन् । तसर्थ, अर्को भेरियन्टको जोखिम अहिले अनुमान मात्र गर्न सकिन्छ ।
सार्स कोभ–२ जस्ता एमआरएनए भाइरसमा हालसम्मको अध्ययनले जेनेटिक सामग्रीमा परिवर्तन ल्याउन सकिने देखाएका छन् । तर, कोरोना भाइरसको जेनेटिक कोड ब्रह्माण्डमा रहेको परमाणुको कोडको तीन गुणा लामो भएको पत्ता लागेको छ । यसमा हुने तीव्र परिवर्तनले जेनेटिक सिक्वेन्समा समेत परिवर्तन ल्याइरहेको हुन्छ । तर, सबै उत्परिवर्तनमा चासो दिन आवश्यक नरहेको विज्ञहरू बताउँछन् ।
भाइरोलोजिस्ट भिन्सेन्ट राकानिलाले भनेका छन्, ‘कतिपय उत्परिवर्तन केही समयको अन्तरालमा आफैँ हराएर जान्छन्, भने अधिकांश मानव शरीरमा गम्भीर असर नपु¥याउने खालका हुन्छन् । महत्वपूर्ण उत्परिवर्तन स्पाइक प्रोटिनमा हुने गर्छन् । जसले मानव कोषमा सतहमा रिसेप्टर हुन्छन् । स्पाइक आफैँमा एक हजार दुई सय ७३ एमिनोएसिड मिलेर बनेको हुन्छ, जसलाई तीन हजार आठ सय ३१ रासायनिक आधारद्वारा कोड गरिएको हुन्छ ।’
यस्तै, उत्परिवर्तन भएर आएका सबै स्वरूपलाई नयाँ भेरियन्ट मानिदैन । न्युयोर्कको इथाकास्थित कर्नेल विश्वविद्यालयका माइक्रोबायोलोजी र इम्युनोलोजीका प्राध्यापक जोन मुरले भनेका छन्, ‘मौन रूपमा हुने म्युटेसन सान्दर्भिक छैनन् । सामान्यतया, मानव शरीरमा सर्न सक्ने र खोपहरूबाट बच्ने क्षमता भएका भेरियन्टलाई मात्र पहिचान गरी भेरियन्टको नामकरण गरिँदै आइएको छ ।’
भाइरसबारे भइरहेको निरन्तर अध्ययनले वैज्ञानिकहरूलाई संक्रमितमा स्याम्पलमार्फत भाइरसको जिनोममा परिवर्तन स्क्यान गर्न मद्दत गरिरहेको बताएका छन् । जिनोममा भइरहेको उत्परिवर्तन पहिचान गर्न सकेमा स्पाइक प्रोटिनको प्रकृति पत्ता लगाउन सकिने र मानव कोषको रिसेप्टरसँग अन्तत्र्रिmया गरेर अर्को सम्भावित भेरियन्टको असरबारे अनुमान गर्न सकिने विज्ञहरूले बताउँदै आएका छन् ।
ओमिक्रोन भेरियन्ट विश्वव्यापी रूपमा फैलिएपछि वैज्ञानिकहरूले अन्य भेरियन्टको संक्रमणबाट बचाउन सकिने प्रयास गरिरहेको बताएका छन् । दक्षिण अफ्रिका एक प्रि–प्रिन्ट अध्ययनले कोभिडविरुद्ध खोप लगाएका र ओमिक्रोन भेरियन्ट संक्रमण भइसकेकोमा डेल्टा र बिटा भेरियन्टको जोखिम कम पाइएको बताएको छ ।