८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल
वीरगंज संजाल
१६ फाल्गुन २०७८, सोमबार १०:१९
३६२९
काठमाडौं | नेपाल राष्ट्र बैंकले ८ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन र ९१ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । फागुन १८ गते जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी बिल चैत १५ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनको लागि ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७९ जेठ १७ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।