वीरगंज | युक्रेनमाथि रुसले गरेको आक्रमणको विरुद्धमा आइतबार पनि युरोपभरका सहरमा विरोध प्रदर्शन भएको छ।रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको चौथो दिन हजारौं मानिसहरुले युरोपभर रुसविरुद्ध प्रदर्शन गरेका छन्।
जर्मनीको राजधानी बर्निलमा आइतबार करिब १ लाख मानिसहरुले ‘युद्ध रोक’, ‘पुटिनको अन्तिम युद्ध’ र ‘हामी युक्रेनको साथमा छौं’ जस्ता नारा लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए। आन्दोलनको कारण जर्मनीको राजधानीका विभिन्न स्थानमा रेल तथा भूमिगत सेवाहरु अवरुद्ध भएका थिए।
पछिल्लो समय निरन्तर रुसले युक्रेनमाथि मिसाइल आक्रमण गरिरहेको हजारौं मानिसहरु युक्रेन छाडेर भागिरहेको अवस्थामा युरोपभर रुसी कदमको विरोध भएको हो। आइतबार चेक रिपब्लिकको प्रागमा पनि ८० हजारभन्दा धेरैले रुसविरुद्ध प्रदर्शन गरेका थिए।
त्यस्तै स्पेनको मड्रिडमा पनि हजारभन्दा धेरै मानिसहरुले शान्तिको माग गर्दै रुसविरुद्ध प्रदर्शन गरेका थिए। डेनमार्कमा करिब ४ सयभन्दा धेरैले युक्रेनको दूतावासअघि मैनबत्ती र पुष्पगुच्छासहित युक्रेनको समर्थन जनाएका थिए।
त्यस्तै लण्डन, रोक र लिस्बोनमा पनि ठूलो संख्यामा मानिसहरुले रुसविरुद्ध प्रदर्शन गरेका थिए। रुसमै पनि आइतबार युद्धको विरोधमा आन्दोलन भएको थियो।रुसका प्रहरीले युद्धविरोधी प्रदर्शनमा सहभागी भएको भन्दै १७ सयभन्दा धेरैलाई रुसका विभिन्न ४६ सहरबाट पक्राउ गरेको छ। यससँगै युक्रेनमा आक्रमण सुरु भएपछि रुसमा पक्राउ पर्नेको संख्या ५५ सय पुगेको छ।