वीरगन्ज । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने राजनीतिक दलको संख्या ६४ पुगेको छ।
स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन भएबमोजिम हालसम्म ६४ वटा राजनीतिक दलहरुले निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए।
राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरुमा जनता समाजवादी पार्टीबाहेक सबैले आयोगमा निवेदन दिएका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेले शुक्रबार मात्रै आयोगमा निवेदन दिएका थिए।
आयोगमा दर्ता भइसकेका दलहरुलाई संविधानको धारा २७१ बमोजिम राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिम ढाँचामा ५ फागुनदेखि १५ फागुनसम्म निवेदन दिन आयोगले आह्वान गरेको थियो।
आयोगमा दर्ता भएका जम्मा १०९ वटा दलमध्ये शनिबारसम्म ६४ वटा दलले मात्रै स्थानीय तहको निर्वाचनमा भाग लिन निवेदन दिएका हुन्। दल दर्ताका लागि आयोगमा निवेदन दिने समय आइतबार सकिँदैछ।