वीरगन्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरूको आजको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकमा समसामयिक विषयमा छलफल भएको नेता डा. सुरेन्द्र झाले जानकारी दिए ।
बैठकमा अध्यक्ष महन्थ ठाकुरले संसद्मा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी), पार्टीको आन्तरिक संरचना निर्माण, तथा समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफलका लागि प्रस्ताव राखेका थिए ।
वरिष्ठ नेताहरू राजेन्द्र महतो, शरत्सिंह भण्डारी, नेताहरू अनिल झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्णलगायतले अध्यक्ष ठाकुरको प्रस्तावउपर आ–आफ्नो धारणा राख्ने नेता झाले जानकारी दिए ।
“अध्यक्षज्यूले बैठकमा प्रस्ताव पेस गरिसक्नुभएको छ । सबै नेताहरूले धारणा राख्नुहुनेछ । अनि मात्र निर्णय सार्वजनिक गर्नेछौँ,” उनले भने । बैठक भोलि पनि जारी रहने उनले बताए ।