जनकपुरधाम – एमसीसीको विरोधमा गरिएको नेपाल बन्दको प्रभाव धनुषामा न्यून देखिएको छ। विभिन्न दल तथा मोर्चाले एमसीसीको विरोधमा बुधबार नेपाल बन्द गरे पनि जनकपुरधामसहित जिल्लामा बिहानैदेखि गाडी चलेको छ। विद्यालय तथा व्यापार व्यवसाय पूर्ण रुपमा खुला रहेको छ।
धनुषा जिल्लामा कतै कुनै प्रकारले बन्दको असर नपरेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए। ‘अहिलेसम्म बन्दको कुनै प्रभाव परेको छैन’, उनले भने, ‘अवस्था सामान्य छ।’
माँ जानकी बस यातायात्र प्रालिका अध्यक्ष मनोज चौधरीले छोटो दुरीको बस सञ्चालनमा कुनै प्रभाव नपरे पनि लामो दूरीमा सञ्चालन हुने बस सेवा प्रभावित भएको बताए। उनले पश्चिमतर्फबाट आउने बस जनकपुरधाम आउन नसकेको जानकारी दिए। बुटवल, धनगढीलगायतका क्षेत्रबाट बस आउन सकेको छैन। त्यस्तै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जनकपुरधाममा व्यापार व्यवसायमा बन्दको कुनै प्रभाव नपरेको बताए।