वीरगञ्ज । नक्कली ऋणीको नाममा करिब साढे पाँच करोड रकम लघुवित्तबाट निकालेर ठगी गर्ने लघुवित्तका म्यानेजरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले नक्कली ऋणी खडा गरी लघुवित्तबाट रकम निकालेर ठगी गर्ने पर्साको पर्सागढी नगरपालिकाको बढनिहारमा रहेको नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बढनिहारका म्यानेजरसहित चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सो लघुवित्तका शाखा प्रबन्धक रौतहट चन्द्रपुर नगरपालिका–४ का भोजेन्द्र ठाकुर लोहार, कर्मचारीहरु पर्साको पर्सागढी नगरपालिका–७ का गेनालाल पटेल, वीरगञ्ज महानगरपालिका–२७ का प्रदिप कुमार पटेल र शेषनाथ कुशवाहा रहेका छन्।
पक्राउ परेका शाखा प्रबन्धक लोहारले अन्य कर्मचारीहरूको सहयोगमा विभिन्न मितिमा ३०८ जना वचतकर्ता सदस्यहरूको जानकारी बिना उनीहरूको नामको नक्कली ऋण आवेदन र कागजात तयार गरी ऋण स्वीकृत गरी आफैले पाँच करोड ३४ लाख ५५ हजार ४ सय ७९ रुपैयाँ ३ पैसा हिनामिना गरेको भनि पर्सा प्रहरीमा काभ्रे धुलिखेल नगरपालिका वडा नं. ३ मा रहेको लघुवित्तको मुख्य कार्यालयको तर्फबाट गत मंसिर २४ गते जाहेरी परेको थियो।
जाहेरी परेपछि शाखा प्रबन्धक लोहारलाई सोही दिन पक्राउ गरी अनुसन्धान गर्दा पक्राउ परेका थप तीन जना कर्मचारीहरुको मिलेमतोमा नक्कली ऋणी खडा गरी १५ जना बचतकर्ताको बचत रकम र कर्जाको ब्याजबापतको रकमसमेत गरी कुल पाँच करोड ५७ लाख ४२ हजार २७४ रुपैयाँ हिनामिना गरी संस्थालाई हानी नोक्सानी पुर्याएको खुल्न आएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
पक्राउ परेका चारैजनालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा पेश गरिएकोमा अदालतको आदेशअनुसार शाखा प्रबन्धक लोहार पुर्पक्षको लागि कारागार चलान भएको तथा तीन जनालाई जनही एक/एक करोड धरौटी अदालतले तोकेकोमा धरौटी बुझाउन नसकेकोले उनीहरु पनि कारागार चलान भएको खनालले बताए।