मोरङ । एमसीसी खारेजीको आव्हानमा गरिएको बन्दको प्रभाव मोरङमा आंशिक परेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बन्दको प्रभाव जिल्लामा नदेखिएको जानकारी दिए। ‘हामी कार्यक्रमका लागि पूर्वतर्फ जाँदैछौं। राजमार्ग, भित्री सडकमा सवारी चलेका छन्’, उनले भने, ‘सुरक्षाका लागि नियमित गस्ती र आवश्यक स्थानमा सुरक्षा निकायको उपस्थिति कायम रहेको छ।’
बन्दका कारण जिल्लाको शैक्षिक क्षेत्रमा भने प्रभाव परेको छ। प्रजिअ दाहालका अनुसार प्याब्सन, एन प्याब्सनलगायत शैक्षिक क्षेत्रले स्वतस्फुर्त रुपमा विद्यालय, कलेज बन्द गरेका छन्। राजमार्गसँगै जिल्लाका भित्री सडक, उद्योग, कलकारखाना, बजार खुला रहेको प्रजिअ दाहालको भनाइ छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश १ का संयोजक सरोज श्रेष्ठले बन्दले यातायात क्षेत्रलाई प्रभाव नपरेको बताए। धरानबाट पूर्व मेची, उत्तरतर्फ पहाडी क्षेत्रका लागि सवारी चलेको उनले जानकारी दिए।
संयोजक श्रेष्ठले एमसीसीको विषयलाई लिएर सडक बन्द गर्न खोज्नु तर्कसंगत नभएको उल्लेख गरे। जनतालाई सास्ती हुने काम बन्द गर्न उनले आग्रह गरे। बन्दलाई प्राथमिकता नदिएर यातायात व्यवसायीलाई आधिकारिक रुपमै सवारीसाधन सञ्चालन गर्न आग्रह गरिएको उनको भनाइ छ।
‘सवारी चलाउने क्रममा जहाँ अवरोध हुन्छ त्यही सवारीसाधन रोकेर राख्न सुझाव दिएका छौं’, संयोजक श्रेष्ठले भने, ‘बन्दबारे हामीलाई कुनै आधिकारिक जानकारीसमेत आएको छैन। त्यसैले पनि सवारी ग्यारेजमा थन्काउनुको अर्थ छैन।’ बन्दका कारण हालसम्म सडक र यातायात क्षेत्रमा अवरोधको खबर प्रदेशका जिल्लाबाट नआएको उनले जानकारी दिए।