काठमाडौं । सरकारको तथ्यांकमा नआएको कोभिड–१९ विरुद्धकोे खोपबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा बनेको छानबिन समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा स्थानीय तहहरूले खोप लगाएको तथ्यांक अध्यावधिक गर्न छुटाएको, खोप लिएर पनि स्वघोषणा गर्नुपर्ने व्यक्तिहरूले विवरण नटिपाएको, खोप भन्डारणमा पनि समस्या देखिएकोलगायत उल्लेख छ । सोही कारणले तथ्यांक हराएको रिपोर्टमा उल्लेख गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।
समितिले खोपको यकिन विवरण राख्नका लागि तथ्यांक प्रणाली व्यवस्थित गर्न सुझाव दिएको पनि बताइएको छ । प्रतिवेदन मन्त्री खतिवडाले अध्ययन गरिसकेपछि मात्रै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताइएको छ ।