जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस सरकारले समाज रूपान्तरणको अभियानमार्फत महत्त्वपूर्ण काम गरिरहेको बताएका छन् । मंगलबार प्रदेश सरकारले चार वर्षमा गरेका कामका ‘उपलब्धि’ सार्वजनिकका लागि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
प्रदेश सरकारले समाजमा रहेका विकृति, विसंगतिलाई अन्त्य गर्न सामाजिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको मुख्यमन्त्री राउतको भनाइ छ । महिला, दलितलगायत उत्पीडितलाई मूल प्रवाहमा ल्याउन प्रदेश सरकारले काम गरेको उनले बताए ।
“यो अवधिसम्म ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियान, छोरी शिक्षा बिमाको कार्यक्रम, साइकल वितरण तथा लोकसेवा कक्षा सञ्चालनजस्ता कार्यक्रम भएका छन्,” उनले भने ।