वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ । तेस्रो लहरको सुरुवातदेखि वीरगंजमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । जसमध्ये २ जना पर्सा, ४ जना बारा र १ जना रौतहटका रहेका छन् ।
सोमबार मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ निवासी ७७ वर्षीय वृद्ध रहेका छन्। श्वासप्रश्वासमा समस्या आएपछि माघ ११ गते अस्पतालमा भर्ना भएका वृद्धको सोमवार मध्यान्ह १२ बजेर ५ मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिँहले जानकारी दिए ।
संयोजक डा. सिँहकाअनुसार अस्पताल भर्ना पश्चात कोभिडसँग मिल्दोजुल्दो लक्षण देखाएपछि माघ १४ गते एन्टीजेन परिक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो । भर्ना भएको दिनदेखिनै वृद्धलाई हाइफ्लो अक्सिजन सपोर्टमा राखिएको थियो ।
कोभिड-१९ विरुद्धको खोप नलिएका वृद्धको मृत्युको कारण गम्भिर प्रकृतिको कोभिड निमोनिया रहेको डा. सिंहले बताए । ‘कोभिड निमोनियाले फोक्सोलाई नराम्रोसँग प्रभावित गरेको रहेछ । सिप्यापको सपोर्टमा पनि राखेर हेर्यौँ तर जति प्रयास गर्दापनि वृद्धको ज्यान जोगाउन सकेनौँ.’ डा. सिंहले भने । दीर्घ रोगी, बृद्धबृद्धा एवम् बालबालिकाहरुले बढी सतर्कता अपनाउन डा. सिँहले सुझाव दिएका छन् ।