वीरगञ्ज । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आगामी निर्वाचन सममै गर्न सरकारको ध्यानाकर्षण गराएको छ । अनेरास्ववियु जिल्ला कार्य समिति पर्साले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाउँदै आगामी निर्वाचनमा ढिलाई नगर्न माग गरेको छ ।
हाल निर्वाचीत जनप्रतिनीधिहरुको समयअवधि सकिने बित्तिकै नयाँ जनप्रतिनीधिहरु आउनुपर्ने अवस्थाको सृजना हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । जनप्रतिनीधिविहिन हुनुपर्ने अवस्था नआओस् भन्नका लागि पनि युवाहरु जागरुप भईसकेको सन्देश प्रवाहका लागि पनि ज्ञापन पत्र बुझाइएको अनेरास्ववियु पर्साका अध्यक्ष रेयाज अन्सारीले बताए ।
२०७९ जेठ ७ गते स्थानीय तहका जनप्रतिनीधिहरुको पदावधि समाप्न हुने हुँदा त्यो अवधिसम्म नयाँ जनप्रतिनीधि निर्वाचित हुनुपर्ने अध्यक्ष अन्सारीको भनाई छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ अनुसार गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उप्रमुख, वडा अध्यक्ष र वडा सदस्यको निर्वाचन कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि हुनुपर्ने व्यवस्था रहेको छ ।
समयमै निर्वाचन नभएमा जनप्रतिनिधिविहीन बन्ने स्थानीय तहले एकातिर बजेट ल्याउँन नसक्ने र अर्कोतिर सञ्चित कोषको रकम खर्च हुने अवस्था नहुँदा विकासको परिकल्पना गर्न नसकिने ज्ञापन पत्रमा उल्लेख छ ।
‘संविधानको धारा २२५ अनुसार ६ महिना भित्र गाउँ÷नगर सभाको निर्वाचन सम्पन्न गर्नुपर्नेछ भन्ने बुँदालाई अपव्याख्या गर्दै ऐन नै संसोधन गर्न गृहकार्य गर्ने कार्य अत्यन्तै निन्दनिय एवम् संविधानसभाको संवैधानिक मनसाय विरुद्धको कार्य हो भन्ने हाम्रो ठम्याई हो ।’ अध्यक्ष अन्सारीद्वारा जारी ज्ञापन पत्रमा उल्लेख छ ।
तत्काल स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निस्पक्ष निर्वाचन गराउन अनेरास्ववियुले माग गरेको अनेरास्ववियु ठाकुरराम बहुमुखी क्याम्पस इकाइ कमिटीका अध्यक्ष आशिफ अहमदले बताए । मागको सम्बोधन नगरे लाखौ विद्यार्थीहरुलाई लोकतन्त्र बचाउने लडाइमा पुन एकपटक सडकमा उतार्न बाध्य हुने चेतावनी पनि ज्ञापन पत्रमार्फत दिइएको छ ।
अनेरास्ववियुका केन्द्रिय सदस्य मेराजुल हवारी, वीरगञ्ज महानगर अध्यक्ष जेयाद अन्सारी, अनेरास्ववियु ठाकुरराम ईकाइ कमिटी अध्यक्ष आशिफ अहमद, विद्यार्थी नेताहरु अजित साह, सुजित मण्डल, पप्पु सहनी लगायतको टोलीले प्रजिअ ढकालमार्फत ज्ञापन पत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
ज्ञापन पत्र बुझ्दै प्रजिअ ढकालले विद्याथीृ संगठनको माग जायज भएको बताए । उक्त मागको सम्बोधनका लागि आफुले पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।