१२ माघ, काठमाडौं । हरेक वर्षको वर्षायाममा पहिरोका कारण त्रिभुवन राजपथको नौबिसे-नागढुंगा सडकखण्डमा हुने जाममा घण्टौंसम्म एम्बुलेन्स समेत फस्ने गरेको समाचार आउने गर्दछ । आधारभूत सुविधा समेत नभएका बिरामी बोक्ने एम्बुलेन्समा यसरी घण्टौंसम्म जाममा फस्नुपर्दा बिरामीको हालत झनै बिग्रिने सम्भावना हुन्छ ।
लामो जाममा जतिसुकै संवेदनशील अवस्था भएपनि एम्बुलेन्सहरु अघि बढ्नसक्ने सम्भावना हुँदैन । दुई लेनको राजमार्गमा दुवैतर्फको सवारी जाममा परेपछि एम्बुलेन्समा जतिसुकै गम्भीर बिरामी भएपनि कुर्नुको विकल्प छैन ।
राजमार्गमा मात्रै होइन, केही समयअघिसम्म काठमाडौं उपत्यकाकै शहरी सडकमा पनि यस्तो अवस्था थियो । ट्राफिक बत्ती जडान गरेपछि अहिले यस्तो अवस्थामा केही सुधार भने देखिएको छ । अझै पनि ट्राफिक बत्ती नभएका चोकमा अस्तव्यस्त जाम हुँदा कैयौं मिनेट एम्बुलेन्स र दमकल पनि फस्ने गरेका उदाहरण भेटिन्छन् । काठमाडौंमा हुने अव्यवस्थित जाम होस् वा राजमार्गमा दुवैतर्फ हुने ट्राफिक जाममा रोकिएका एम्बुलेन्समा कैयौंको ज्यान जोखिममा पर्ने गरेको छ ।
विश्वभर एम्बुलेन्स र दमकल सडकमा पहिलो प्राथमिकतामा पर्छन् । नेपाल मात्रै होइन बाहिरको कुरा गर्ने हो भने एम्बुलेन्स र दमकललाई क्रसिङमा पनि सिधै अघि जान दिइन्छ । यो व्यवस्था हाम्रोमा कानूनी व्यवस्था भएपनि व्यावहारिक रुपमा लागू हुन सकेको छैन । नेपालमा उल्टै अर्काे गाडीले एम्बुलेन्सलाई नै ओभरटेक गर्ने परिपाटी देखिन्छ । यस्तो मानसिकताले अकालमा धेरैको ज्यान लिने गरेको देखिन्छ ।
एम्बुलेन्स होस् वा दमकल नै किन नहोस्, यी दुवैलाई एक सेकेण्डको समय पनि महत्वपूर्ण हुन्छ । तर यति संवेदनशील सवारीलाई पनि किन बाटो दिइँदैन त ? सामान्यतया हामी नेपालमा एम्बुलेन्स र दमकलले समयमा बाटो नपाउनुमा मुख्यतया निम्न कारण हुन्छन्-
– सडक अत्यन्त साँघुरो हुनु
– एम्बुलेन्स र दमकललाई बाटो छाड्नुपर्छ भन्ने मानसिकताको विकास नहुनु
– आपतकालीन सेवाको लागि छुट्टै बाटो तयार पार्न नसक्नु
– ट्राफिक व्यवस्थापन व्यवस्थित नहुनु
भक्तपुर र मुग्लिनको पहेंलो लेनबाट के सिक्ने ?
काठमाडौंको कोटेश्वर-भक्तपुर ६ लेन सडकमा यात्रा गर्दा हामीले छेउको दोहोरो पहेंलो लाइनबाहिर पनि एउटा सवारी साधन छिर्ने बाटो देख्न सक्छौं । जापान सरकारले बनाएको यो सडकमा यति ठाउँ किन राखिएको होला ? धेरैलाई यसको अर्थबारे जानकारी नहुन सक्छ । यो यस्तै आपतकालीन अवस्थाका सवारी र बिग्रिएका सवारी मर्मतका लागि राख्न बनाइएको लेन हो, जसलाई रोड सोल्जर भनिन्छ । शहरी क्षेत्रमा सडक निर्माण वा डिजाइन गर्दा आपतकालीन सवारी साधनको लागि रोड सोल्जर राख्ने चलन नेपालमा मात्रै नभएर विश्वभर रहेको छ । नारायणघाट-मुग्लिन सडकखण्डमा पनि यही आपतकालीन अवस्था र सवारी बिग्रिँदाको लागि रोड सोल्जर राखिएको छ ।