वीरगंज । भारतको ७३ औँ गणतन्त्र दिवसका अवसरमा बुधबार बिहान काठमाडौंस्थित भारतीय दूतावासमा विशेष कार्यक्रम आयोजना गरिए।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झन्डोत्तोलन गरेसँगै कार्यक्रमको शुरु भएको थियो।
कार्यक्रममा राजदूत क्वात्राले भारतका राष्ट्रपति रामनाथ कोविन्दको सन्देश पढेर सुनाए।
त्यस अवसरमा भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई नेपाली रुपैयाँ ६.३५ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरे।
मानवीय प्रयासका सबै क्षेत्रहरुमा भारतीका उपलब्धि र भारतको स्वतन्त्रताको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा कार्यक्रम आयोजना गरिएको काठमाडौँस्थित भारतीय दूतावासले प्रेस विज्ञप्तिमा जनाएको छ।
‘आजादीका अमृत महोत्सव’ अन्तर्गत वर्षैभरी र सन् २०२३ को अगस्ट महिनासम्म थुप्रै कार्यक्रमहरु आयोजना गरिने दूतावासले जनाएको छ।
नेपालमा ७५ औँ वार्षिकोत्सव मनाउन प्रदेश तथा जिल्लामा भारतको सहयोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजना यसै वर्ष उद्घाटन गर्ने योजना रहेको दूतावासले उल्लेख गरेको छ।
नेपालभरका विभिन्न संस्था तथा स्थानीय निकायलाई ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गरिने भारतीय दूतावासले जनाएको छ।