वीरगंज । नेपालमा क्रिप्टोकरेन्सी कारोवारीले करोडौंको अवैध कारोबार गरेको तथ्याङ सार्वजनिक भएको छ । राजश्व अनुसन्धान विभागका अनुसार नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको कारोबार गरेको कसुरमा एकै परिवारका तीनसहित चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
विभागले विभिन्न मोबाइल एप्लिकेसनको प्रयोग गरेर रु ३७ करोड ३१ लाख २७ हजार बढी अमेरिकी डलर’ को अवैध कारोबार गरेको कसुरमा एकै परिवारका तीनसहित चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हाे ।
विवरणअनुसार कैलालीको लम्किचुवा–१० स्थायी ठेगाना भई हाल काठमाडौं कालोपुल बस्ने दिनेश खड्का, उसकी दिदी भगवती खड्का तथा बुबा नरबहादुर खड्का र दिनेशकी साथी अनिता धितालले कैफियत गरेको आरोपमा मुद्दा दर्ता गरिएको विभागद्वारा आज जारी सूचनामा उल्लेख छ । उनीहरुले मिलेमतोमा अनलाइनमार्फत अवैध रुपमा डलरको कारोबार गरेको पाइएको विभागले जनाएको छ ।
उनीहरूले सामूहिकरूपमा मिलेमतो गरी इ-स्क्रेल र निवांश प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कारोबार गरेको पाइएको विभागद्धारा जारी विज्ञप्तिमा जनाइएकाे छ ।
विभागका अनुसार दिनेशको नाममा रहेको ग्लोबल आइएमई बैंकको खातामा नौ करोड ७९ लाख ९८ हजार ५८१, अनिता धितालको नाममा रहेको लक्ष्मी बैंकको खातामा पाँच करोड ७७ लाख छ हजार ८२६, भगवती खड्काको नाममा रहेको एनआइसी एशिया बैंकमा २० करोड ४२ लाख ९४ हजार ५२६ र नरबहादुर खड्काको नाममा रहेको ग्लोबल आइएमबई बैंकको खातामा एक करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बराबरको रकम भित्रिएको पाइएको छ ।
केन्द्रीय बैंकको सूचनाअनुसार विदेशी विनिमय ‘नियमित गर्ने’ ऐन, २०१९ तथा राष्ट्र बैंकले जारी गरेको सूचनाविरुद्ध कसुर गरेको दाबीसहित विभागले रु ३७ करोड ६४ लाखभन्दा बढी बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ । दायर मुद्दामा बिगो जफत गरी तीन वर्षसम्म कैद सजायको माग गरिएको छ ।