वीरगंज | प्रदेश २ को नाम मधेस प्रदेश राखेको विरोधमा जनकपुरधाममा युवाहरुले प्रदर्शन गरेका छन् । प्रदेशसभामा भएको गोप्य मतदानबाट दुई तिहाइभन्दा बढी मतसहित मधेस प्रदेश नामाकरण भएपछि मंगलबार त्यसको विरोधमा यहाँका युवाहरुले सांसदहरुको पुतला दहन गरेका हुन् ।२२ जिल्लाको मधेश रहेपनि ८ जिल्लालाई मधेश नामाकरण गरिएकोमा आपत्ति जनाउँदै विरोध गरिएको छ ।
युवा अभियन्ता सुशील कर्णको अगुवाइमा जनकपुरधामस्थित जानकी चोकमा युवाहरुले ‘८ जिल्लालाई मधेश प्रदेश मान्दैनौँ, प्रदेशको नाम मिथिला भोजपुरा कायम गर’ भन्दै पुतला जलाएका छन् ।कर्णले आफू पनि मधेस आन्दोलनमा अग्रपंक्तिमा रहेको र त्यसकै कारण ५ वर्ष भन्दा बढी समयसम्म मुद्दा खेपेको भन्दै उनले ८ जिल्ला मधेस प्रदेश मान्य नहुने बताए ।
उनले ८ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले सोही पहिचानको आधारमा प्रदेशको नाम हुनुपर्ने माग गरे । कर्णले २२ जिल्लालाई मधेस प्रदेश कायम गरे मात्र आफूहरुलाई स्वीकार्य हुने बताए ।