वीरगन्ज । प्रदेश नम्बर २ को प्रदेशसभा परिसरमा सञ्चारकर्मीहरुलाई प्रवेश गर्नमा रोक लगाइएको छ । सञ्चारकर्मीहरुलाई प्रदेशसभा परिसर भित्र प्रवेशमा रोक लगाईएपछि उनीहरुले विरोध जनाएका छन् । उनीहरुले आफ्नो सञ्चार सामग्री प्रदेशसभाको मूल ढोका अगाडी राखेर विरोध जनाएका हुन् ।
सञ्चारकर्मीहरुले आफ्नो सञ्चार सामग्री र क्यामेरा लगायतका उपकरणहरु डाउन गरेका छन् । प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि भइरहेको मतदान प्रकियाको रिपोर्टीङ्ग गर्न गएका सञ्चारकर्मीहरुलाई कोरोनाभाइरस महामारीको बहाना देखाउँदै प्रदेशसभा परिसरमा प्रवेश गर्नबाट रोकिएको छ ।
सभापति सरोजकुमार यादव र सचिव रञ्जित कुमार यादव प्रहरीलाई पत्रकारलाई प्रवेश गर्न नदिन निर्देशन दिएको बुझिएको छ । पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झाको अगुवाईमा पत्रकारहरुले क्यामेरा डाउन गरेका छन् । तिनीहरु अहिले क्यामेरा डाउन गरेर विरोध जनाइरहेका छन् । झण्डै चार वर्षपछि दोस्रो पटक प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि मतदान हुँदैछ् ।