बर्दिया । बर्दियामा एक्कासी कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढेपछि प्रमुख जिल्ला अधिकारीले आदेश जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएका छन्। कोरोनाबाट जिल्लाको अवस्था जटिल बन्ने देखिएपछि प्रजिअ सन्तबहादुर सुनारले संक्रमणको जोखिम न्युनीकरण गर्न आदेश दिएका हुन्।
कोरोनाको संक्रमण दर नियन्त्रण, निदान र उपचार गर्न जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए।
बर्दिया जिल्लामा हालसम्म ७ हजार ६ सय ४ जना संक्रमितमध्ये ७ हजार ३ सय ४४ जनाले कोरोना जितेका छन्। बर्दियामा २ सय ४५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। प्रजिअ सुनारले भने, ‘अहिले बर्दियामा ६० जना कोरोना संक्रमित आइसोलेसनमा छन्। समयमै सावधानी नअपनाए संक्रमितको संख्या ठूलो मात्रामा बढ्न सक्छ।’
रोजगारी वा अन्य कुनै कारण जिल्लाबाहिर गइ घर फर्किनेलाई नजिकको स्वास्थ्य केन्द्र वा खोप केन्द्रमा एन्टिजेन परीक्षण, खोप नलगाएकालाई खोप लगाउन आदेशमा भनिएको छ। सीमाबाट नेपाल भित्रिनेलाई अनिवार्य सीमामा रहेका हेल्थ डेस्कमा परीक्षण, खोप लगाउनु पर्ने छ। १२ वर्षभन्दा माथिका सबैले स्वास्थ्य केन्द्रहरुमा गइखोप लगाउन निर्देशन दिइएको छ।
जिल्लाका सबै आइसोलेसन सेन्टर, अस्पताल लगायत स्वास्थ्य केन्द्रलाई तयारी अवस्थामा रहन भनिएको छ। सार्वजनिक स्थानमा भेला गर्न नहुने, २५ जनाभन्दा बढीको जमघट गर्न नपाइने सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, खोप कार्ड अनिवार्य देखाउनु पर्ने (मोबाइलमा राखिएको कार्डको फोटो भए पनि), मास्क, सेनिटाइजर, भौतिक दुरी लगायतका स्वास्थ्यको अनिवार्य पालना गर्नुपर्ने जारी आदेशमा उल्लेख छ। खोप लगाएकाहरुले पनि मापदण्डको पालना गर्नुपर्ने छ।
कोभिड १९ सम्बन्धी स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना नगरे वा आदेश अवज्ञा गरे संक्रामक रोग ऐन २०२० एवम् स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही हुने प्रजिअ सुनारले बताएका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय अनुसार बर्दियाका सबै स्थानीयतहका विद्यालय बन्द गरिएका छन्।