वीरगन्ज । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर सुस्त हुने भएको छ । सरकारले ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने बताइरहेका बेला विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर निराशाजनक रहने प्रक्षेपण गरेको छ । विश्व बैंकको प्रक्षेपण अनुसार यस आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहनेछ ।
सन् २०२३ मा अर्थात् आगामी आर्थिक वर्ष २०७९÷८० मा भने नेपालको आर्थिक वृद्धिदर केही सुधार भएर ४.७ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण छ ।
विश्व बैंकले कोभिड–१९ का नयाँ भेरियन्टहरू फैलदाँ आर्थिक क्रियाकलाप सुस्त हुने, मुद्रास्फिति उच्च हुने, आयमा गिरावट र मागमा कमी तथा आपूर्ति श्रृंखलामा अवरोध, आय असमानता र उच्च सार्वजनिक ऋण साथै मौद्रिक र बजेट नीतिमा प्रोत्साहन दिने क्षमताको अभावका कारण आर्थिक पुनरुत्थानको क्रम सुस्त हुने बताएको छ ।
दक्षिण एसियामा भारत र बंगलादेशको आर्थिक वृद्धिदर भने सन् २०२२ र सन् २०२३ मा पनि उच्च रहने प्रक्षेपण छ । भारतको आर्थिक वृद्धिदर सन् २०२२ मा ८.३ प्रतिशत र आगामी वर्ष सन् २०२३ मा ८.७ प्रतिशत हुने प्रक्षेपण छ ।
बंगलादेशको आर्थिक वृद्धिदर सन् २०२२ मा ६.४ प्रतिशत र आगामी वर्ष ६.९ प्रतिशत रहने विश्व बैंकको अनुमान छ । त्यस्तै, भुटानको आर्थिक वृद्धिदर सन् २०२२ मा ५.१ प्रतिशत र आगामी वर्ष सन् २०२३ मा ४.८ प्रतिशत रहने प्रक्षेपण छ ।
सन् २०२१ मा २२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको मालदिभ्सको आर्थिक वृद्धिदरमा संकुचन आएर सन् २०२२ मा ११ प्रतिशत र सन् २०२३ मा १२ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ ।