वीरगन्ज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले अपाङ्गता भएकाहरुका लागि निर्मित छात्रावासको उदघाटन गरेका छन्। महानगरपालिकाको वडा नम्बर १३ राधेमाईमा अपाङ्गता भएकाहरुका लागि सञ्चालित विद्यालयमा नगर स्तरीय बजेटबाट निर्मित छात्रावास भवनको बुधबार नगरप्रमुख सरावगीले उदघाटन गरेका हुन् ।
भवनको उद्वघाटन गर्दै मेयर सरावगीले फरक क्षमता भएका बालबालिकाहरुको लागि स्थानीय सरकारले जस्तोसुकै समस्यामा पनि सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले शारिरिक रुपमा फरक क्षमता भएपनि उनीहरुमा पनि उत्तिकै मानसिक क्षमता हुने भएकोले त्यस्ता फरक क्षमता भएका व्यक्तिहरुलाई समाजले पनि हौसला प्रदान गर्नुपर्ने बताए ।
अहिले बहिराहरुको लागि मात्रै सञ्चालनमा रहेको विद्यालयलाई पूर्ण अपाङ्गमैत्री वातावरणमा शिक्षण सिकाई प्रदान गरेर अन्य अपाङ्गता भएका व्यक्तिहरुको लागि पनि क्रमस विद्यालयको व्यावस्था गरिने उनले बताए । त्यसको लागि उनले महानगरपालिकाले आगामी बर्षमा छुट्टै बजेटको पनि व्यावस्था गर्ने आश्वासन दिए ।
वीरगञ्ज महानगरपालिकाको १५ लाख रुपैयाँ बजेटमा निर्माण शुरु भएको दुईवटा स्नान कक्ष, दुईवटा भान्सा घर सहितको छात्रावास भवनमा अहिले थप निर्माण कार्यहरु पनि भईरहेको र झण्डै २५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष अजय साहले जानकारी दिए ।
पाँच जना कान नसुन्ने विद्यार्थीहरुबाट पठनपाठन गरिएको विद्यालयमा अहिले ५० जना भन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । छात्रावास निर्माणपछि विद्यालयमा विद्यार्थीहरुको संख्या बढ्ने अनुमान गरिएको साहले बताए ।
अहिले विद्यालयमा बस्ने खाने व्यवस्था नहुँदा कतिपय विद्यार्थीहरु आउन नसकेका र छात्रावास भवन निर्माण भएपछि टाढा टाढाका विद्यार्थीहरु पनि आउने भएकोले विद्यार्थीको संख्या बढ्ने उहाँको दावी छ । कार्यक्रममा शिक्षा शाखा प्रमुख अर्बिन्दलाल कर्ण , वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, नेपाल टेलिभिजनका विजय चौहानलगायतको उपस्थिति रहेको थियो ।