आईटी विभागले व्यापारी जैनको घरबाट बरामद गरेको उक्त पैसा गन्नका लागि ६ वटा बैंकहरुबाट ६ वटा मेसिन नै मगाउनु परेको थियो । बरामद गरिएको उक्त १५० करोडलाई ठूलो कन्टेनरमार्फत् स्टेट बैंक लगिएको बताइएको छ ।
सुरुमा डीजीजीआईका अधिकारीहरुले कर छली गरेको आरोपमा ब्यापारी पियुष जैनको घर, कोल्ड स्टोर र पेट्रोल पम्पहरुमा छापा मारेको थियो । सोही क्रममा सय करोडौं रुपैयाँ बरामद हुन थालेपछि इन्कम ट्याक्सको टिमलाई पनि सूचना दिइएको थियो ।
त्यसपछि दुवै टोलीले ब्यापारी पियुष जैनको घरमा ३६ घण्टासम्म छापा मारेको थियो । सोही क्रममा अधिकारीहरुले पैसाको २१ वटा बाकस फेला पारेको हो । यस विषयमा आयकर विभागको टोली हिजैदेखि अनुसन्धानमा जुटेको बताइएको छ ।
जीएसटी खुफिया महानिर्देशन (डीजीजीआई)ले व्यापारी पियुष जैनका छोरा प्रत्युष जैनलाई पनि हिरासतमा लिएर सोधपुछ गरिरहेको बताइएको छ । केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी)का अध्यक्ष विवेक जोहरीले पनि छापा मारेर करिब १५० करोड रुपैयाँ नगद बरामद गरिएको बताए ।
टोलीले कानपुर, कन्नौज, गुजरात, मुम्बईमा रहेको जैनको फ्याक्ट्री भएको सबै स्थानमा एकैसाथ छापा मारेको बताइएको छ । पियूष जैन समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवको निकट मानिन्छन् । उनले एक महिनाअघि मात्रै अखिलेश यादवको उपस्थितिमा लखनऊमा समाजवादी नामको पफ्र्यूम लन्च गरेका थिए ।