वीरगंज । गत आर्थिक वर्षमा पहिलोपटक खर्ब पुगेको नेपालको निर्यात व्यापार चालु आर्थिक वर्षको पहिलो ५ महिनमै एक खर्ब पुगेको छ । भन्सार विभागको २०७८ मंसिर मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालको कुल निर्यात एक खर्ब २ अर्ब ९२ करोड ५ लाख ७२ हजार पुगेको छ ।गत आर्थिक वर्षमा पहिलोपटक एक खर्ब माथिको निर्यात पुग्दा आर्थिक वर्षको १० महिना बितेको थियो ।गत आर्थिक वर्षको यही अवधिको तुलनामा आयात १०५.६१ प्रतिशतले वृद्धि भएको हो ।
निर्यातको तथ्याङ्कले केही आशा जगाउने अवस्था देखिए पनि आयातमा भएको वृद्धिले निर्यातमा भएको वृद्धि छायाँमा परेको छ । चालु आर्थिक वर्ष लागेपछि मंसिर मसान्तसम्मको ५ महिनामा ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख ४२ हजारको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । मंसिर महिनामा मात्रै १ खर्ब ८८ अर्ब भन्दा बढीको आयात भएको छ ।
उच्च आयातले सोधनान्तर घाटा र चालु खाता घाटा चुलिँदै जानुको साथै विदेशी विनिमय सञ्चितिमा दबाव बढ्दै जाँदा नेपाल राष्ट्र बैंकले हालै मात्रै केही वस्तु आयातमा निरुत्साहित गर्न भन्दै एलसी खोल्दा ५० प्रतिशतदेखि शत प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै व्यापार घाटा ७ खर्ब ३५ अर्ब पुगेको छ । नेपालको दैनिक व्यापार घाटा नै करिब ५ अर्ब पुगेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । अझै मंसिर महिनामा दैनिक ६ अर्ब २७ करोडको आयात हुँदा दैनिक व्यापार घाटा साढे ५ अर्ब नाघेको छ ।नेपाललाई वस्तु आयातबाट २ खर्ब १७ अर्ब ३३ करोड भन्सार राजस्व प्राप्त भएको छ ।