वीरगंज। सामाजिक सञ्जाल ट्वीटरका सह-संस्थापक ज्याक डोर्सीले प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका छन् ।ट्वीटरले एक विज्ञप्ति जारी गर्दै डोर्सीको राजीनामा स्वीकृत गर्दै पराग अग्रवाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जानकारी दिएको छ ।ट्वीटरको बोर्डले अग्रवाललाई तुरुन्तैदेखि लागु हुने गरि प्रमुख कार्यकारी अधिकृत र बोर्ड सदस्यमा नियुक्त गरेको जनाएको छ ।
त्यस्तै डोर्सी २०२२ सम्म बोर्डको सदस्य रहिरहने भएका छन् । त्यस्तै ट्वीटरको बोर्डको अध्यक्षमा ब्रेट टेलरलाई नियुक्त गरिएको छ ।डोर्सीले राजीनामा दिदै कम्पनि आफ्ना संस्थापकबाट अगाडी बढ्न तयार भएको विश्वास गर्दै नयाँ प्रमुख कार्यकारी अग्रवालमाथि आफ्नो पुरा विश्वास रहेको बताएका छन् ।अग्रवाल २०११ मा ट्वीटरमा प्रवेश गरेका थिए भने २०१७ देखि प्रमुख प्राविधिक अधिकृतको रुपमा काम गरिरहेका थिए ।
बिबिसीका अनुसार डोर्सीले लगानीकर्ताको दबाबमा राजीनामा दिएका हुन् । २००६ मा ट्वीटरको स्थापना गरेपछि नै प्रमुख कार्यकारीको भूमिकामा रहेका डोर्सी गत बर्षदेखि कम्पनीका केहि लगानीकर्ताको दबाबमा रहेको बताइदै आएको थियो ।डोर्सीको राजीनामाको चर्चा शुरु भएदेखिनै शेयर बजारमा ट्वीटरको मुल्य बढेको थियो । मुल्य बढेपछि केहि समय कारोबार समेत रोक्नुपरेको थियो ।
४५ बर्षिय डोर्सीले बिज स्टोनम एभान विलियम्स र नोआह ग्लाससँग मिलेर २००६ मा ट्वीटरको शुरुवात गरेका थिए ।डोर्सीले डिजिटल पेमेन्ट एप स्क्वायरको पनि स्थापन गरेर मल्टि बिलियन डलरको कम्पनि बनाएका छन् । २००८ मा ट्वीटरको प्रमुख कार्यकारी छोडेर स्क्वायरको संचालन गरेका डोर्सी २०१५ मा ट्वीटरको प्रमुख कार्यकारीको रुपमा फर्किएका थिए ।