वीरगंज | बढ्दो कच्चा तेलको मूल्य नियन्त्रण गर्न अमेरिकाले भूमिगत गुफा (पेट्रोलियम भण्डारण कक्ष) पाँच करोड लिटर तेल निकाल्ने निर्णय गरिसकेको छ । तर, जो बाइडेनले यससम्बन्धी निर्णय गरेसँगै पेट्रोलियम निर्यात गर्ने राष्ट्रहरूको संगठन (ओपेक) सँग अमेरिकाको तनाव बढ्ने देखिएको छ ।
बाइडेनको कदमले आपेक प्लस देशलाई एकसाथ तनाव दिँदैछ । अमेरिकाले सञ्चित तेल भण्डार प्रयोग गर्ने खबर पाउनासाथ ओपेक प्लस देशले यसलाई ‘अनावश्यक कदम’ संज्ञा दिएका थिए । कच्चा तेल धेरै खपत गर्ने देशले रणनीतिक तेल भण्डार उपयोग गरेमा आफ्ना सदस्य देशले पनि आवश्यक कदम चाल्ने ओपेक प्लसले चेतावनी दिइसकेको छ ।
नागरिकलाई राहत दिन भन्दै अमेरिकी राष्ट्रपति बाइडेनले मंगलबार गुफाभित्र अमेरिकाले राखेको तेल निकाल्ने आदेशमा हस्ताक्षर गरेका थिए । बाइडेनको यो निर्णयको प्रभाव अमेरिकामा मात्र सीमित हुने छैन । अमेरिकाले चीन, जापान, बेलायत, भारत र दक्षिण कोरियाजस्ता ठूला अर्थव्यवस्था भएका मुलुकलाई पनि भण्डार गरिएको इन्धन निकाल्न सहमत गराइसकेको छ । यी मुलुकले पनि सञ्चित गरेको तेल निकालेपछि विश्व बजारमै तेल आपूर्ति बढ्ने निश्चित छ ।
रणनीतिक भण्डारबाट तेल झिक्ने सहमति गरेका अन्य मुलुकको योगदान अमेरिकाको तुलनामा निकै कम हुनेछ । उदाहरणका लागि बेलायतले १५ लाख र जापानले ४२ लाख ब्यारेल तेल मात्रै झिक्नेछन् । भूमिगत गुफाबाट तेल निकाल्ने अमेरिकी प्रयासबारे जे–जस्ता विश्लेषण भएपनि विश्व अब तेल राजनीतितर्फ उन्मुख भएको छ । यसले तेल युद्धसम्म निम्त्याउन सक्नेछ । अमेरिकाले आवश्यक कदम चालिसकेकाले बल अब ओपेक प्लस देशको पोल्टामा छ ।