वीरगंज | गरिबी निवारणका लागि सरकारले गरेका प्रयासहरूको समीक्षा गर्न संयुक्त राष्ट्र संघीय गरिबी तथा मानवअधिकार सम्बन्धी साझेदार ओलिभर डे सुटर नेपाल आउने भएका छन् । यही मंसिर १३ देखि २३ गतेसम्म नेपाल रहने उनले गरिबी निवारणका लागि नेपालले गरेका प्रयासहरुको विषयमा अध्ययन गर्नेछन् ।
“नेपालले हालैका वर्षहरूमा बहुआयामिक गरिबी न्यूनीकरण गर्न प्रभावशाली कदमहरू चालेको छ,” मानव अधिकार परिषद्ले गरिबी तथा मानवअधिकारका विषयमा अनुगमन, प्रतिवेदन र सल्लाह दिन नियुक्त गरेका डी सुटरले भने, “त्यसमा गरिबी थप न्यूनीकरण गर्ने र सन् २०२४ सम्ममा ६० प्रतिशत जनसंख्यालाई कुनै न कुनै रूपमा सामाजिक सुरक्षामा समेट्ने सरकारको प्रतिबद्धतालाई स्वागत गर्छु । मेरो भ्रमणले त्यसको प्रगति मूल्यांकन र सरकारले गरिबीमा परेकाहरूलाई सहयोग गर्न थप मद्दत पुग्ने छ ।”’
राष्ट्रिय योजना आयोगका अनुसार कोरोनाका कारण नेपालमा थप १२ लाख गरिब र १६ लाख बेरोजगार थपिएको तथ्यांक सार्वजनिक भएको थियो । सोही तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा झण्डै ६८ लाख गरिब छन् । त्यसपछि भएको दोस्रो लकडाउन तथा बाढी पहिरोले के कति गरिब र बेरोजगार थप्यो भन्ने स्पष्ट आधार नभए पनि सरकारले गरिबी निवारणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
नेपाल भ्रमणको क्रममा सुटरले कोभिड–१९ का साथै बाढी र पहिरोको जोखिममा परेको समुदायलाई जोगाउन सरकारले चालेका संवैधानिक प्रावधान तथा अनौपचारिक क्षेत्रमा काम गर्ने अनुमानित ७७ कामदारहरूको सामाजिक सुरक्षामा गरेको प्रयासलाई हेर्ने योजना बनाएका छन् । डे सुटरले काठमाडौं लगायत कर्णाली, लुम्बिनी र प्रदेश नं २ मा नीतिगत गोलमेच बैठकहरू आयोजना गर्ने तयारी गरिएको छ । भ्रमणको क्रममा राष्ट्रिय तथा स्थानीय अधिकारी, गरिब तथा समुदायका साथै अन्तर्राष्ट्रिय र नागरिक समाजका संस्थाहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि उनको छ ।