वीरगंज | सरकारले खोप अभियान सञ्चालन गरेयता प्रयोग गरेकामध्ये आधा खोप अनुदानमा प्राप्त गरेको छ ।विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय विकास साझेदारले नेपाललाई हालसम्म प्रयोग भएकामध्ये लगभग आधा खोप अनुदानमा दिएका छन् । नेपालले खोप अभियान सञ्चालन गरेयता हालसम्म दुई करोड ४५ लाख ७० हजार ६ सय ३० कोरोनाविरुद्धको खोपको मात्रा प्राप्त भइसकेको छ । यसमध्ये एक करोड ७३ लाख ४३ हजार ६ सय ३९ खोप प्रयोग भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा प्रयोग भएका खोपमध्ये सरकारले एक करोड ३१ लाख २२ हजार ६ सय ३० खरिद गरेको थियो भने बाँकी एक करोड २३ लाख ४८ विभिन्न संघ संस्थाको अनुदान सहयोग भएको जानकारी दिए । हालसम्म ९२ लाख ८४ हजार ३ सय ३७ लाई आंशिक र ८० हजार ५९ हजार ३ सय २ लाई पूर्ण मात्राको खोप लगाई सकिएको मन्त्रालयले जनाएको छ ।
सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमा खोप अभियानका लागि काम गर्दै आएको १० संस्थाको छाता संगठन गाभी कोभ्याक्स सुविधा, कोभिड १९ खोप उत्पादक मुलुक, उत्पादक कम्पनी तथा तिनका वितरकसँग खोपको प्राप्ति तथा खरिद गर्दै आएको छ ।छिमेकी मित्र राष्ट्र भारत, चीन, अमेरिका, भुटान र बाँकी गाभी कोभ्याक्स सुविधाबाट सहयोग स्वरूप प्राप्त भएका छन् । विश्व स्वास्थ्य संगठनले २०२० को डिसेम्बरमा तत्काल प्रयोगका लागि बायोएन टेक कम्पनीको फाइजर, २०२१ को पे्रmबु्रअरीमा अक्स्फोर्डको अष्ट्राजेनिका, सिरमा इन्स्टिच्युट अफ इन्डियाको कोभिसिल्ड र जोन्सन एन्ड जोन्सनको खोप पहिलो चरणमा प्रयोग अनुमति दिएको थियो । पछिल्लो समय अमेरिकामा उत्पादन भएका मोर्डना खोप पनि नेपालमा प्रयोग हुँदै आएको छ ।
उपत्यका भित्रिने र बाहिरिनेका लागि एक महिने खोप अभियान
सरकारले खोप अभियानलाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिका र सडक यात्रुका लागि नाकामा खोप अभियान सञ्चालन गरेको छ ।काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा दुई दिनसम्म एस्ट्रजेनिकाका दोस्रो मात्रा र भेरोसेलको पहिलो र दोस्रो मात्रा खोप लगाइसकेको छ । यसैगरी महानगरपालिकाको पहलमा मंसिर ५ गतेदेखि एक महिनासम्म काठमाडौं उपत्यका ४ नाकामा खोप अभियान सञ्चालन गरिएको छ । उपत्यका भित्रिने र बाहिरिने यात्रुलाई लक्षित गरी कोटेश्वर, बल्खु, कलंकी र नयाँ बसपार्कमा खोप अभियान सञ्चालन भइरहेको जनाइएको छ ।
खोप अभियान काठमाडौं महानगरपालिका र जनस्वास्थ्य कार्यालयसँगको सहकार्यका अभियान सञ्चालन गरिएको छ । कामनपाका स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले काठमाडौंबाट बाहिर जाने र भित्र्ने १८ वर्षभन्दा बढी उमेर समूहका यात्रुलाई तीन प्रकारका खोपका पहिलो र दोस्रो मात्रा लगाइने जानकारी दिए । खोप लगाउने मानिस बढी भए खोप केन्द्र बढाउने तयारी रहेको उनले जानकारी दिए । सो नाकाबाट एस्ट्राजेनिक, भेरोसेल र कोभिसिल्ड खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो अभियानमा खोपअनुसार पहिलो र दोस्रो मात्राको खोप लगाइँदै छ । यसअघि तिहारमा पनि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुका लागि २ दिने खोप अभियान सञ्चालन गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारी देशभर कोरोना संक्रमणको दर विस्तारै कम रहेको देखिए पनि जनसंख्या बढी भएका क्षेत्रमा जोखिम कायम नै रहेकाले सचेत हुनुपर्ने बताएका छन् । मन्त्रालयका अनुसार अन्य जिल्लाको संक्रमणदर घटेर कम भए पनि काठमाडौं र लतितपुरमा भने उच्च जोखिम छ ।
कतिपय जिल्लामा कोरोना संक्रमण शून्य छ भने खोप पनि पूर्णमात्रामा लगाई सकिएको छ । हालसम्मको समग्र संक्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा ७० प्रतिशतभन्दा बढीलाई कम्तिमा एक डोज खोप लगाई सकिएको छ । अन्य प्रदेशको तुलनामा गण्डकी र लुम्बिनी प्रदेशमा पनि खोप धेरैले लगाइसकेको मन्त्रालयले जनाएको छ । सरकारले खोप लगाउन नपाएका नागरिकका लागि सहयोग र खरिद गरेर खोप लगाउने योजना छ ।