पर्सा | भिखमपुरस्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयका विद्यार्थीहरु आन्दोलित । पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ भिखमपुरस्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन् । विद्यालयमा पठनपाठन नगरेर राजनीति गर्ने र विद्यार्थीको भविष्यसँग खेलवाँड गर्ने प्रवृति हावी भएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।यसअघि काम गर्ने प्रधानाध्यापक ध्रुब रामविरुद्ध मुद्धा दर्ता गरेर काम गर्न नदिनुका साथै अहिले प्रधानाध्यापक रामको पदसमेत खोसेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् । मा.वि. तहका कक्षा ९ देखि १२ सम्म अध्यापन गराउने २ जना, नि.मा.वि. तहमा ३ जना र प्रा.वि तहमा ५ जना शिक्षकको भरमा विद्यालय सञ्चालन भइरहेपनि विषयगत शिक्षकको अभावका कारण पठनपाठनले गति लिन नसकेको कक्षा १० मा अध्ययनरत छात्र कृष पटेलले बताए ।
कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा मा.वि. तहका प्रधानाध्यापकविरुद्ध मुद्धा दर्ता गरेर अहिले नि.मा.वि.तहका शिक्षक बिनय पटेल प्रधानाध्यापक बनेकोमा पनि विद्यार्थीहरुले आपत्ति जनाएका छन् । यथाशिघ्र विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने भन्दै गाउँपालिकामा ध्यानाकर्षण गराउन गएका विद्यार्थीहरुलाई गाउँपालिका प्रवेशमा रोक लगाएर गेट बन्द गरिएको छ ।यता विद्यार्थीहरुले गेट बन्द गरेर प्रवेशमा रोक लगाएको भन्दै बाहिरैबाट नाराबाजी गरीरहेका छन् । विद्यार्थीहरुलाई नियन्त्रणमा लिन प्रहरीसमेत परिचालित गरिएको बताइएको छ । यता प्रहरीले विद्यार्थीहरुलाई कुटपिट गर्नुका साथै छात्राहरुलाई महिला प्रहरी बिना नै दुव्र्यवहार गरेको विद्यार्थीहरुको आरोप छ । तिमीहरु विद्यार्थी नभए मारिदिन्थे भन्दै धम्की समेत एकजना प्रहरीले दिएको कक्षा १० मा अध्ययनरत छात्रले नाम नबताउने शर्तमा बताए ।
शिक्षकको व्यवस्थापन गरिदिनुपर्ने माग राख्दै आधा घण्टा हिँडेर खानासमेत नखाएर गाउँपालिका कार्यालय पुग्दा पनि गाउँपालिका अध्यक्षका नजिकका व्यक्तिहरुले गेट बन्द गरेर भेट्न नदिएको उनीहरुको भनाई छ ।प्रहरीको कुटाईबाट कक्षा १० मा अध्ययनरत छात्र नविन कुमार राम, छात्रा बन्धना पटेलसहितका विद्यार्थीहरुलाई चोट समेत लागेको विद्यार्थीहरुले बताएका छन् । सो अवसरमा कक्षा ९ र १० मा अध्ययनरत लगभग डेढ सय भन्दा बढी विद्यार्थीहरुकोे उपस्थिती रहेको छ । गाउँपालिकाका अध्यक्ष सुरेश प्रसाद कुर्मी भने आफू व्यस्त छु भन्दै पन्छिन खोजेका छन् ।