वीरगंज । विश्व स्वास्थ्य संगठनले आगामी मार्चसम्म युरोपमा कोभिड संक्रमणका कारण थप सात लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । मार्चसम्ममा युरोप र एसियाका केही मुलुकमा कोभिड-१९ का कारण आगामी मार्चसम्ममा थप सात लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको बीबीसीले जनाएको छ । उक्त समयसम्ममा ४९ मुलुकका अति सघन उपचार कक्षमा ‘उच्च वा अत्यधिक भार’ हुने डब्ल्यूएचओको भनाइ छ ।
त्यस्तै, युरोपमा कोभिड-१९ मृत्युको प्रमुख कारक बन्न पुगेको डब्ल्यूएचओले बताएको छ । ‘जारी प्रवृत्ति हेर्दा आगामी वसन्तसम्ममा मृत्यकको संख्या २२ लाखभन्दा बढी पुग्ने देखिन्छ’, मंगलबार डब्ल्यूएचओले भन्यो । पछिल्ला दिन कोभिडबाट मृत्यु हुनेको दैनिक संख्या दोब्बरले बढेर झण्डै ४२ सय पुगेको पनि संगठनले बतायो ।संगठनका अनुसार खोप नलगाउने मानिसको संख्या धेरै भएको र केही मुलुकमा डेल्टा भेरियन्ट व्याप्त रहेकाले युरोपमा संक्रमण दर उच्च हुन पुगेको हो ।
यसैबीच, डब्ल्यूएचओका युरोप निर्देश निर्देशक डा. हान्स क्लुगेले खोप नलगाएका मानिसलाई लगाउन अपिल गर्दै भने, ‘अनावश्यक त्रासदी र मृत्यु रोक्ने कार्य तथा जिम्मेवारी हामी सबैको हो ।’ यो हिउँदमा समाज तथा व्यवसायमा देखा पर्ने थप अवरोध सबै मिलेर न्यून गर्नुपर्ने समेत उनको भनाइ थियो ।युरोपमा पछिल्लो समय कोभिड संक्रमितको संख्या तीव्र रुपले बढिरहेको छ । अष्ट्रियामा सोमबारदेखि २० दिनसम्म देशव्यापी लकडाउन लगाइएको छ । फ्रान्स, जर्मनी र ग्रीसले समेत बढ्दो संक्रमणबीच बुस्टर डोज अनिवार्य बनाएर आफ्ना नागरिकलाई पूर्ण खोप लगाउने तयारी गरेका छन् ।तर पुन: प्रतिबन्धात्मक नियम लागू भएपछि कैयौं मुलुकमा विरोध प्रदर्शन भइरहेको छ । नेदरल्याण्डमा आंशिक लकडाउन लगाउने सरकारको निर्णयपछि प्रहरी र प्रदर्शनकारीबीच कैयौं दिन हिंसात्मक झडप भएको थियो ।